बीमितहरुको रोजाईमा सावधिक जीवन बीमा, एकल बीमालेख घट्दै (तथ्यांकसहित)

राजन कठायत
२२ जेष्ठ २०८०, सोमबार ०७:५१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा कम्पनीहरुले एकल बीमा पोलिसी घटाउदै लगेको प्राधिकरणले सार्वजनिक गरेको विवरणले देखाएको छ ।  एकल बीमाशूल्कले बीमा कम्पनीलाई घाटा पुर्याउन थालेपछि बीमा कम्पनीहरुले स्व नियमनको विधि मार्फत एकल बीमाशूल्कका पोलिसी घटाउदै लगेको छ ।

बीमा प्राधिकरणले एक बीमा पोलिसी निरुत्साहित गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिदै आइरहेको छ ।

नेपालमा संचालित रहेका जीवन बीमा कम्पनीहरु बैशाख महिनासम्ममा एक खर्ब १४ अर्व १० करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम जीवन बीमा, रुपान्तरित जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा, आजिवन जीवन बीमा, एकल बीमा शूल्क जीवन बीमा, म्यादि जीवन बीमा र लघु जीवन बीमा लगायतका बीमालेखबाट सो रकम आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमालेखबाट ४४ अर्ब २७ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् ।

दोस्रो नम्बरमा अग्रिम सावधिक जीवन बीमालेखबाट यस अवधिसम्ममा कम्पनीहरुले २७ अर्ब १४ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् ।

तेस्रो नम्बरमा बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेखहरुबाट कम्पनीहरुले १७ अर्ब ११ करोड रुपैयाँ बराबरको बीमाशूल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको दश महिनासम्ममा कम्पनीहरुले रुपान्तरित सावधिक जीवन बीमालेखहरुबाट १५ अर्ब ३६ करोड रुपैयाँ, आजिवन जीवन बीमालेखहरुबाट ३ अर्ब ५३ करोड रुपैयाँ र बैदेशिक रोजगार म्यादि जीवन बीमालेखहरुबाट कुल २ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमालेखहरुबाट १ अर्ब ९७ करोड रुपैयाँ र म्यादि जीवन बीमालेखहरुबाट १ अर्ब ४ करोड रुपैयाँ कमाउन सफल भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार एकल बीमाशूल्क जीवन बीमालेखहरु मार्फत कम्पनीहरुले सबैभन्दा कम बीमाशूल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा ९५ करोड ५० लाख रुपैयाँ बराबरको बीमाशूल्क आर्जन गरेको छ ।

के हो एकल बीमाशुल्क ?

लामो अवधिको जीवन बीमा खरिद गर्दा बीमितले नियमित रुपमा बीमा अवधिभर बीमा प्रिमियम रकम बीमा शुल्कवापत भुक्तानी गर्छन् ।तर एकल बीमाशुल्कमा बीमितले कूल बीमाङ्क रकम अर्थात बीमा प्रिमियम सुरुमै एकमुष्ठ तिरेको हुन्छ ।

यसरी एकमुष्ठ रुपमा बीमा शुल्क भुक्तानी गर्दा बीमितले निश्चित प्रतिशत छुट पाउँछन् । खासगरी जीवन बीमा शुल्क एकै पटक तिर्ने र आकस्मिक रुपमा कमाएका व्यक्तिले बीमा गराउने यस्तो खालको बीमा गराएका हुन्छन् । पछिल्लो समय रियलस्टेट ब्यवसायी यस्तो बीमाप्रति बढी आकर्षित भएका देखिएको छ ।

अन्य बीमालेखमा किस्ता किस्तामा बीमितले बीमाशुल्क वापतको रकम जम्मा गर्नुपर्छ । तर एकल बीमाशुल्क अन्तर्गत लामो अवधिको बीमाशुल्क एकै पटकमा बीमा कम्पनीलाई बुझाउनुपर्छ ।नेपाल राष्ट्र बैंक मातहत रहेको वित्तीय जानकारी इकाईले समेत एकल बीमाशुल्क बीमा योजना मुद्रा निर्मलीकरणको लागी प्रयोग भइरहेको आशंका गर्दै बीमा समितिमार्फत् अनुसन्धान समेत गराएको छ ।

अवैध स्रोतबाट प्राप्त आम्दानीलाई एकल बीमा शुल्कको माध्यमबाट बीमा गर्न प्रयोग गर्ने र तीन वर्षपछि समर्पण गरेर बीमाबाट भएको आम्दानीको रुपमा देखाएर श्रोत खुलाउनुपर्ने दायित्वबाट उम्किने प्रयास गरेको भन्दै राष्ट्र बैंकले समेत कडाई गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*