आर्थिक सर्वेक्षणमा कस्ता छन् बैंक, बीमा र पुँजिबजार क्षेत्रका परिसूचक ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ।अर्थमन्त्री डा। प्रकाश शरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।
आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७९र८० मा बैंक तथा बीमा कम्पनीहरुको मर्जरको प्रवाह देखिएको छ । त्यस्तै, औद्योगिक क्षेत्र उत्पादन २ प्रतिशतले ऋणात्मक रहने अनुमान छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ५।३ प्रतिशत रहने अनुमान छ । पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक उत्पादनको वृद्धिदर वार्षिक औसत ३।३ प्रतिशत र कुल गार्हस्थ्य योगदान वार्षिक औसत ५।६ प्रतिशत रहेको छ ।
बीमा
अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण चालु आर्थिक वर्षको अवधिमा बीमा कम्पनीको संख्या १२.२० प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७८ फागुनको तुलनामा २०७९ फागुनसम्ममा कम्पनीको संख्या सो मात्राले घटेको हो ।
२०७८ फागुनसम्म जीवन बीमा कम्पनी १९, निर्जीवन बीमा कम्पनी २० र पुनर्बीमा कम्पनी २ गरी जम्मा बीमा कम्पनीको सङ्ख्या ४१ रहेको थियो । जुन घटेर २०७९ फागुनसम्म जीवन बीमा कम्पनी १८, निर्जीवन बीमा कम्पनी १६ र पुनर्बीमा कम्पनी २ वटामा झरेका छन् ।
प्राधिकरणको चुक्ता पुँजी वृद्धि गर्ने व्यवस्थाको कारण चालु आर्थिक वर्षको शुरुवात देखि नै बीमकहरू गाभ्ने र गाभिने क्रम शुरु भएको छ । फलस्वरूप, बीमकको संख्यासँगै शाखा कार्यालयहरू पनि घटेका हुन् । २०७८ फागुनसम्म बीमकको शाखा संख्या जीवन बीमातर्फ २,२९२ र निर्जीवन बीमातर्फ १,०३७ रहेकोमा २०७९ फागुनसम्म यस्तो सङ्ख्या क्रमशः २,२०६ र १,०३७ रहेको छ ।
२०७९ फागुनसम्म जीवन बीमा व्यवसाय गर्ने बीमकको स्रोत तथा उपयोग ६ खर्ब २३ अर्ब ८९ करोड र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको ८९ अर्ब ५८ करोड गरी ७ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ६ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।
२०७९ असारसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमासहित बीमाको दायरामा आएको जनसङ्ख्या ४१.२ प्रतिशत रहेकोमा २०७९ फागुनसम्म ४४.०५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा बीमा प्रिमियम १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लगानीयोग्य रकम क्रमशः वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म लगानीयोग्य रकम ६ खर्ब ८२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । कुल लगानीयोग्य रकममध्ये जीवन र निर्जीवन बीमाको अंश क्रमशः ८४.७ प्रतिशत र १५.३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा जीवन बीमातर्फ १ लाख १३ हजार २६ बीमालेख अन्तर्गत १८ अर्ब ९६ करोड रकम बराबरको दावी भुक्तानी भएको छ । निर्जीवन बीमातर्फ १ लाख ९ हजार ९ सय ८० बीमालेखको १६ अर्ब ४८ करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमातर्फ ३ लाख ३१ हजार ६ सय ३५ बीमा दाबीको ४४ अर्ब ६० करोड रुपैयाँ र निर्जीवन बीमातर्फ १ लाख ४१ हजार १ सय ८६ बीमा दाबीको १८ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी भएको थियो ।
बैंक
मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शाखा विस्तारसँगै बैंङ्कि कारोबार गर्ने जनसंख्या उल्लेख्य बढेको देखिएको छ ।
“विक्रम सम्वत २०७९ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता चार करोड ९२ लाख पाँच हजार, कर्जा खाता १८ लाख ५४ हजार, मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ६५ हजार र इन्टरनेट बैंकिङ सेवाका प्रयोगकर्ता १७ लाख ७९ हजार पुगेको छ”, आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘चालु आर्थिक वर्षको फागुनसम्म २५ हजार कर्जा खाता र ४२ लाख ३३ हजार निक्षेप खाता थप भएका छन् ।’
पछिल्ला वर्षमा मर्जर तथा प्राप्तिमार्फत बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि शाखा विस्तार र वित्तीय पहुँच बढ्दै गएको छ । डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
क्युआर कोडमार्फत गरिने भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ भने विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत हुने कारोबारमासमेत बढोत्तरी भएको छ । कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिक रूपमा पुनरूत्थान हुँदै गइरहेकोमा रुस–युक्रेन युद्धको असर र गत आर्थिक वर्ष आयातमा तीव्र वृद्धि हुँदा चालु आर्थिक वर्षमा नेपालको बैकिङ प्रणालीमा तरलता तथा लगानीयोग्य साधनमा कमी आई ब्याजदर बढेको छ ।
वित्तीय प्रणालीमा २०७९ फागुन मसान्तमा २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बंैक गरी कूल एक सय २० बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । यसैगरी, दुई पुनरबीमा कम्पनीसहित ३६ बीमा कम्पनी, ३१ हजार तीन सय ७३ सहकारी संस्थाका साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, हुलाक बचत बैंक र म्युचुअल फण्डसमेत सञ्चालनमा छन् ।
गत फागुन मसान्तसम्ममा लघुवित्तसमेत बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार छ सय २९ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखाका आधारमा प्रति शाखा औसत जनसङ्ख्या दुई हजार पाँच सय १० रहेको छ । यस्तो जनसख्या २०७८ फागुनमा दुई हजार पाँच सय ७२ रहेको थियो ।
नेपालको वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा उच्च रहेको छ । २०७९ पुस मसान्तमा वित्तीय क्षेत्रको कूल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश ८६ दशमलव छ प्रतिशत रहेको छ ।
वित्तीय क्षेत्रअन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १४ दशमलव ७ प्रतिशत र वाणिज्य बैंकको अंश ५८ दशमलव ८ प्रतिशत रहेको छ भने अन्य वित्तीय संस्थाको अंश १३ दशमलव एक प्रतिशत प्रतिशत रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा एक दशमलव ३१ प्रतिशत रहेकोमा २०७९ पुसमा दुई दशमलव ६३ प्रतिशत रहेको छ ।
विसं २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा तरल सम्पत्तिको अंश २४ दशमलव ३० प्रतिशत, नगद तथा बैंक मौज्दातको अंश सात दशमलव १६ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पुँजीमा कर्जाको अंश ८५ दशमलव ६० प्रतिशत रहेको छ । जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी र कुल पुँजीको अनुपात क्रमशः १० दशमलव ०९ प्रतिशत र १२ दशमलव २९ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको प्रक्रिया जारी रहेको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति हुने प्रक्रिया सुरु भएपश्चात् २०७९ फागुनसम्म दुई ५७ बैंक तथा वित्तीय संस्था यस प्रक्रियामा सामेल भएका छन् ।
सोमध्ये एक सय ८४ संस्थाको इजाजत खारेज भई ७३ संस्था कायम भएका छन् । चालु आर्थिक वर्षको फागुनसम्म १० वाणिज्य बैंक मर्जर तथा प्राप्तिको प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २०७९ फागुनसम्म २६ बाट २१ मा झरेको छ । कोभिड–१९ को प्रभाव न्यून भएसँगै आर्थिक वर्ष २०७७÷७८ देखि तीव्ररूपमा बढ्दै गएको निजी क्षेत्रतर्फको कर्जाको विस्तार पछिल्लो समय न्यून दरमा वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ मा २६ दशमलव ३ प्रतिशतले बढेको निजी क्षेत्रतर्फको कर्जा आर्थिक वर्ष २०७८/७९ मा १३ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ भने आर्थिक वर्ष २०७९/८० को फागुनसम्म चार दशमलव छ प्रतिशतले वृद्धि भएको छ ।।
पुँजिबजार
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ खर्ब ९७ अर्ब ४९ करोड रुपैयाँबराको धितोपत्र कारोबार भएको छ। गत वर्ष यही अवधिमा यस्तो कारोबार १० खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ थियो।
यो हिसाबले समीक्षा अवधिमा धितोपत्र कारोबार ७१.८ प्रतिशतले घटेको छ।
यसैगरी २०७८ फागुन मसान्तमा ३७ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँ रहेको धितोपत्र बजार पुँजीकरण २५.४ प्रतिशतले कम भई २०७९ फागुन मसान्तमा रु.२८ खर्ब २३ अर्ब ६८ करोड कायम भएको छ।
कुल धितोपत्र बजार पुँजीकरणमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६४.७ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १३.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.४ प्रतिशत रहेको छ।
सर्वेक्षणले धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्था उत्साहजनक रुपमा रुपमा बढेको उल्लेख छ। २०७८ असारसम्म ३७ लाख ८९ हजार डिम्याट खाता (हितग्राही खाता) को संख्या रहेकोमा २०७९ फागुनसम्म उक्त संख्या ५६ लाख ५४ हजार पुगेको छ। यो संख्या कुल जनसंख्याको १९.४ प्रतिशत हो।
२०७८ असारमा करिब २८ लाख ५० हजारको संख्यामा रहेको मेरो सेयर खाताको संख्या २०७९ फागुनसम्म ४६ लाख ७१ हजार पुगेको छ।