शिवम् सिमेन्ट विरुद्धमा आन्दोलनको तयारीमा स्थानीयबासी

५ जेष्ठ २०८०, शुक्रबार ०९:५५

काठमाडौं । हेटौडमा रहेको शिवम् सिमेन्टले लगातार पहाड भत्काएर सामरी खोलाको तल्लो तटिए वस्तीलाई जोखिममा पारेपछि स्थानीयबासी आक्रोसित बनेका छन् । स्थानीय मकवानपुर गढी गाउँपालिकाका सामरी, कुर्ले, भालुखोला, धादिङ लगायतका बस्तीहरु जोखिममा पर्न थालेपछि नयाँ आन्दोलनको तयारी गरिरहेका छन् । झल्लाका स्थानीयबासी मन कुमार न्यौपाने शिवम् सिमेन्टको नाममा अत्याधिक प्राकृतिक सम्पदा दोहन गरेको, स्थानीयबासी बजार नै उठिबास लाग्ने गरी अत्याधिक उत्खनन् गरेका कारण वस्ती जोखिममा पारेको र गुण्डागर्दी गर्न रकम वितरण गरेर समाजमा अशान्ति फैलाएको आरोप लगाए ।

शिवम् सिमेन्टका विरुद्धमा अनाधिकृत रुपमा पहाड खनेर वातारण नै विगारेको आरोप स्थानीयबासीको छ । सो सम्बन्धमा संसदमा समेत कुरा उठिसकेको छ । स्थानीयबासीले शिवम् सिमेन्टको खानी तत्काल बन्द गर्नुपर्ने, नदि संरक्षण गरी जनताको जीऊ धनको सुरक्षा गर्नुपर्ने माग गर्दै आएका छन् । शिवम् सिमेन्टको खानीका कारण सामरी नदिमा आउने बाढीका कारण प्रत्येक वर्ष मानिसहरुले ज्यान गुमाउँदै आएका छन् ।

सुरुमा विकास आयो भनेर स्वागत गरेकोमा अहिले बस्ती नै उठिबास लगाउने भएपछि आक्रोसित मात्रै भएका छैनन्, आन्दोलन गर्ने तयारी गरिरहेका छन् । वर्षायाम सुरु हुन लाग्दा भालुखोला बाग्दली, कुर्लेका स्थानीयबासी यस वर्षको वर्षायाममा कसरी ज्यान जोगाउने भनेर छलफल गरिरहेका भेटिन्छन् ।

केही दिन पहिले मकवानपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका सांसद महेश बर्तौलाले सामरी नदिको बाढी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले स्थानीयबासीको सुरक्षाको लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘खानी उत्खनन् गरेर फ्याकिएको फोहोर तलतिर बगेर आउन नदिन ठाउँठाउँमा चेक ड्याम बनाउन भनेका छौं । सञ्चालकलाई गाउँपालिकामा बोलाएका छौं । जनताको सुरक्षाको विषयमा छलफल गरेर समाधान गर्छौ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*