जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए ८ अर्ब रुपैयाँ, संस्थानको खर्च सर्वाधिक बढ्दा साविक युनियन लाइफले घटायो (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब २ करोड ७३ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा व्यवस्थापन खर्च घटाउन सफल भएका छन् ।
जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्म व्यवस्थापनमा खर्च गरेको सो रकम गत वर्षको तुलनामा ३.४७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले ८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेका थिए ।
१७ जीवन बीमा कम्पनीमध्ये चालु आवको ९ महिनासम्म सबैभन्दा बढी व्यवस्थापनमा खर्च गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । नेपालले सो अवधिसम्म एक अर्ब १८ करोड ४२ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । साथै मर्जरमा सामेल भएका सुर्यज्योति लाइफको पनि व्यवस्थापन खर्च अत्यधिक बढेको देखिएको छ । दोस्रो बढी खर्च गर्ने सुर्यज्योतिले सो अवधिसम्म ९२ करोड ६७ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ ।
साथै नेशनल लाइफले ८३ करोड ७७ लाख, साविक युनियन लाइफले ५३ करोड ९.८९ लाख र सानिमा रिलायन्सले ५२ करोड ४८ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् । अन्य कम्पनीहरुको यस्तो खर्च सो अवधिसम्म ५० करोड भन्दा मुनि रहेको छ ।
गत वर्षको तुलनामा व्यवस्थापन खर्च घटाउने कम्पनीहरु
गत वर्षको तुलनामा चालु आवको चैत मसान्तसम्म ९ जीवन बीमा कम्पनीले व्यवस्थापन खर्च घटाएका छन् । सबैभन्दा बढी खर्च कटौती गर्ने कम्पनीमा साविक युनियन लाइफ रहेको छ । युनियन लाइफले गत वर्षका तुलनामा यस अवधिसम्म २०.९६ प्रतिशतले व्यवस्थापन खर्च घटाएको छ ।
त्यस्तै, सन नेपालले १७.७७ प्रतिशत, एशियन लाइफले १४.४१ प्रतिशत, सिटिजन लाइफले १३.३० प्रतिशत, साविक प्राइम लाइफले १२.२१ प्रतिशत, एलआइसी नेपालले ११.३२ प्रतिशत, सानिमा रिलायन्स लाइफले ८.३२ प्रतिशत, नेशनल लाइफले ४.९३ प्रतिशत र रिलायबल नेपाल लाइफले ३.४९ प्रतिशतले व्यवस्थापन खर्च घटाएका छन् ।
स्रोत :कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा
व्यवस्थापन खर्च बढ्ने ८ कम्पनी
गत वर्षको तुलनामा यस अवधिसम्म ८ जीवन बीमा कम्पनीको खर्च बढ्न पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा बढी व्यवस्थापन खर्च बढ्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानको यस्तो खर्च १४.५६ प्रतिशतले बढेको छ ।
त्यस्तै, मर्जरमा गएपनि सुर्यज्योति लाइफको पनि खर्च ११.२९ प्रतिशतले बढेको देखिएको छ । साथै साविक गुराँस लाइफको ७.७६ प्रतिशत, प्रभु लाइफको ७.१६ प्रतिशत, नेपाल लाइफको ६.५० प्रतिशत, महालक्ष्मी लाइफको ६.१७ प्रतिशत, आइएमई लाइफको ४.०६ प्रतिशत र मेट लाइफको २.५८ प्रतिशतले व्यवस्थापन खर्च बढेको छ ।