आइजीआईसँग मर्ज हुन लागेको प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १० करोडमाथि, अन्य सूचक कस्तो ?

२५ बैशाख २०८०, सोमबार ११:१६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्ससँग मर्ज हुन लागेको प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आव २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन ४.४० प्रतिशतले बढ्न पुगेको छ ।

गत आवको यसै अवधिसम्म एक अर्ब १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्म ४ प्रतिशतले व्यवसाय बढाएर चैत मसान्तसम्म एक अर्ब ४ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिसम्म कम्पनीको बीमा कोषको आकार समेत १०.९९ प्रतिशत बढाएर कोषमा ७२ करोड ५४ लाख ६७ हजार रुपैयाँ संचित गर्न सफल भएको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीको यस्तो कोषमा ६५ करोड ३६ लाख रुपैयाँ मात्रै संचित रहेको थियो । साथै समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको जगेडा कोषको आकार भने घट्न पुगेको छ । तेस्रो त्रैमाससम्म प्रुडेन्सियल इन्स्योरेन्सको जगेडा कोषको आकार ७६.०७ प्रतिशतले घटेर कोषमा २६ करोड ५३ लाख रुपैयाँ मात्रै संचित रहेको छ । गत वर्ष कम्पनीले जगेडामा १ अर्ब १० करोड संचित गरेको थियो । साथै महाविपत्ती कोषको आकार भने ३४.४८ प्रतिशतले बढेको छ ।

साथै चैत मसान्तसम्म आइपुग्दा कम्पनीले २१ करोड ६९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी गत आवको तुलनामा २२.४२ प्रतिशतले बढ्न पुगेको हो । साथै लगानी कर्जा तथा पुनर्बीमा कमिशनबाट आय भने यस अवधिसम्म २८.८५ प्रतिशतले बढेको छ भने कम्पनीले व्यवस्थापन खर्च १.४४ प्रतिशतले घटाएको छ ।
अधिकांश सूचकमा सुधार देखिएपनि कम्पनीको खुद नाफा भने गत आवको तुलनामा ११.६५ प्रतिशतले घटेको छ । कम्पनीले चैत मसान्तसम्म १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा ११ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

साथै यता कम्पनीको चुक्तापुँजी १०.५६ प्रतिशतले बढेर १ अर्ब २२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिसम्म जारी बीमा पोलिसी संख्या २ प्रतिशतले घटेको छ । समिक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) १०.९२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८३.२७ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मुल्य २५७ रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्न।गाभिने वा मर्जरमा जाने सम्झौता भई भोलि (वैशाख २७) गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*