टुकुचा नदि पुनः उत्खनन् गर्ने मेयर बालेन साहको घोषणा, नदि माथिका घरजग्गा भत्काइने

२४ बैशाख २०८०, आईतवार ०८:३२

काठमाडौं । करिब छ महिना अघि उत्खनन्को प्रयास गरेर बीचैमा रोकिएको टुकुचा खोला उत्खनन् पुनः सुरु गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले घोषणा गरेका छन् ।

साहले उच्च अदालत पाटनबाट प्राप्त फैसलाको प्रतिमा टुकुचा नदिलाई ढल नभई नदिको रुपमा परिभाषित गरेको सन्दर्भ उल्लेख गर्दै नदिलाई छोप्ने कार्य गैर कानुनी भएको भन्दै अब प्रक्रिया पूरा गरी लगत कट्टा गरी नदि छोपेर बनाइएका घर तथा संरचनाहरु खाली गरेर टुकुचा नदिलाई नदिको रुपमा स्वतन्त्र वहाव हुन दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले भनेका छन्, ‘केहिदिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।’

मेयर साहको यस्तो निर्णयसँगै अब टुकुचा माथि बनेका दर्जनौं घरहरु भत्किने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*