नेपाल लाइफ २३ औं वर्षमा प्रवेश, शक्तिशाली एक खर्ब ७० अर्बको बीमा कोष, सर्वाधिक विश्वासिलो बनाउने प्रतिबद्धता
काठमाडौं । २०५८ सालमा आजकै दिन स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट २३ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गर्दासम्म नेपाली जीवन बीमा क्षेत्रकै सर्वाधिक एक खर्ब ७० अर्ब (करिब) को जीवन बीमा कोष खडा गरी बीमित, सरकार र बीमा अभिकर्ताहरुको विश्वासयोग्य कम्पनी बन्न सफल भएको छ ।
आज वार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रकै सर्वाधिक विश्वासिलो कम्पनीको रुपमा अघि बढाउन सशक्त रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
आज अर्थात बैशाख २१ गतेबाट कारोबार सुरु गरेको कम्पनीले २३ औं बार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । बार्षिकोत्सवको अवसरमा आज विहान १०ः०० बजे काठमाडौंस्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने राजधानी बाहिरका अन्य शाखा कार्यालयहरुमा समेत रक्तदानको आयोजना गरी बार्षिकोत्सव मनाइने कम्पनीले जनाएको छ । संघाई ग्रुप र विशाल ग्रुप तथा सर्वसाधारणकै मुख्य लगानी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देशकै सबैभन्दा ठूलो उत्कृष्ट कम्पनी हो ।
बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले नेपाल लाइफसँग सम्बद्ध सबैलाई शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष संघाईले आम लगानीकर्ता, कर्मचारी, बीमा अभिकर्ता तथा नियामक निकाय नेपाल बीमा प्राधिकरणप्रति हार्दिक आभार व्यक्त गरेका छन् । अध्यक्ष संघाईले २३ औं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई अझै उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् ।
कम्पनीका कार्यकारी प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले बार्षिकोत्सवको अवसरमा बीमा अभिकर्ता, बीमित, कर्मचारी, नियामक निकाय तथा सबै लगानीकर्ताहरुमा कृतज्ञता दिएका छन् । सिईओ पराजुलीले नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो कम्पनीको रुपमा कायम राख्न स्वचालित प्रणाली, इनोभेटिभ प्रडक्ट, डिजिटल ट्रान्सफर्मेशन, सेवाग्राहीको फिडब्याकलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
सिईओ पराजुलीले नेपाल लाइफलाई स्थापनादेखि आजसम्मको अवस्थामा ल्याई पुर्याउन भूमिका खेल्ने सबै पूर्व सिईओ, सञ्चालक, कर्मचारी, अध्यक्ष तथा बीमा अभिकर्ताहरुलाई स्मरण गर्दै विगतमा गरिएको योगदानको उच्च सम्मान र नेपाल लाइफको सफलतालाई डगमगाउन नदिई अझै विश्वासिलो कम्पनी बनाउने शसक्त भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरेका छन् ।
सिईओ पराजुलीले बार्षिकोत्सवलाई आज भव्य रुपमा मनाउन समेत सबैलाई आह्वान गरेका छन् । सबै कर्मचारी, अभिकर्ता तथा शुभेच्छुकहरुलाई आजको रक्तदान कार्यक्रममा सहभागी भई २३ औं बार्षिकोत्सवमा रक्तदान जस्ता पुण्यकर्म गर्न आह्वान गरेका छन् । बार्षिकोत्सवको अवसरमा सिईओ पराजुलीले आगामी दिनमा विगतमा झै आम बीमितबाट सद्भाव, सहयोग प्राप्त गरिरहने विश्वास व्यक्त गरेका छन् ।
देशकै सबैभन्दा ठूलो नेपाल लाइफमा देशैभरि १७८ वटा शाखा तथा उप शाखा कार्यालयमा करिब ६२० भन्दा बढि कर्मचारी कार्यरत रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सर्वाधिक बोनस दिने जीवन बीमा कम्पनी हो । दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा हेर्ने हो भने जीवन बीमा कोषमा एक खर्ब ५० अर्ब रुपैयाँ संचिती छ । तेस्रो त्रैमाससम्मको विवरणमा जीवन बीमा कोषको आकार करिब एक खर्ब ७० अर्ब पुग्नेछ । कम्पनीले बीमितहरुलाई उत्कृष्ट बोनसदर प्रदान गर्दै आएका कारण बीमितहरुको आकर्षणको केन्द्र बन्ने गरेका छन् ।