नेपाल रिपब्लिक मिडियाले बैंशाख ३१ गतेदेखि आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले बैशाख ३१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन निष्काशन गर्न लागेको हो । सोमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। त्यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशन गर्नेछ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा बैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, सर्वसाधारणले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।