चैतमा मात्रै जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २ अर्बमाथि, गुराँस, महालक्ष्मी र प्राइम लाइफको देखियो प्रगति

२० बैशाख २०८०, बुधबार १७:१६

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०७९।८० को चैत महिनामा मात्रै २ अर्ब ४८ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कअनुसार १७ जीवन बीमा कम्पनीले गत महिनाको तुलनामा नयाँ ब्यवसाय २० प्रतिशतले बढाउन सफल भएको हो ।

फागुन महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब ६ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । फागुन महिनाको तुलनामा चैत महिनामा नयाँ ब्यवसाय बढाउने कम्पनीहरुमा अधिकांश साना तथा नयाँ जीवन बीमा कम्पनीहरु रहेका छन् ।

फागुन महिनाको तुलनामा चैतमा सबैभन्दा नयाँ व्यवसाय भित्र्याउने कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । फागुनको तुलनामा चैतमा गुराँस लाइफले ९१.८३ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ ।

त्यस्तै, दोस्रोमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मीले फागुन महिनाको तुलनामा चैतमा ७७.८३ प्रतिशतले नयाँ व्यवसाय भित्र्याएको छ । त्यस्तै, प्राइम लाइफले पनि ६५.७४ प्रतिशतले नयाँ ब्यवासय भित्र्याउन सफल भएको छ ।

त्यस्तै, १३ जीवन बीमा कम्पनीको नयाँ ब्यवसाय बढ्दा यता चार जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन भने घट्न पुगेको छ । फागुन महिनाको तुलनामा चैतमा सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन घट्ने कम्पनीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको ११.७१ प्रतिशतले नयाँ ब्यवसाय घटेको हो ।

साथै सिटिजन लाइफको १०.७८ प्रतिशत, मेट लाइफको ६.८५ प्रतिशत र जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै दोस्रो ठूलो कम्पनीको रुपमा चिनिने नेशनल लाइफको पनि फागुन महिनाको तुलनामा चैतमा ४.६४ प्रतिशतले नयाँ व्यवसाय खस्किएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*