जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २७ प्रतिशतले घट्यो, आइएमई लाइफको सबैभन्दा थोरै, युनियन लाइफको उच्च
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०७९।८० को चैत मसान्तसम्म २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको नयाँ ब्यवसाय गत वर्षको तुलनामा खस्किन पुगेको छ ।
आर्थिक मन्दीका कारण जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत आवको तुलनामा २७.५९ प्रतिशतले घट्न पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २९ अर्ब १ करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी नयाँ व्यवसाय घट्ने कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स रहेको छ भने गत वर्षको तुलनामा कम मात्रै व्यवसाय घट्ने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । आइएमई लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क आर्जन घटेपनि अन्य कम्पनीको तुलनामा कम्पनीले नयाँ व्यवसाय बढाउन सफल भएको देखिएको छ । चालु आवको नौ महिनाको अवधीमा युनियन लाइफको प्रथम बीमा शुल्क आम्दानी ४७ प्रतिशतसम्मले घटना आईएमई लाइफले उत्कृष्ट प्रदर्शन गर्दै जम्मा दुई प्रतिशत मात्रै घटेको छ । आइएमई लाइफले औषत भन्दा निकै राम्रो गरेको देखिएको छ ।
चैत मसान्तसम्म सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ फर्स्ट प्रिमियम कलेक्सन गरेको छ । त्यस्तै नयाँ ब्यवसायमार्फत दोस्रो धेरै प्रिमियम कलेक्सन गर्ने कम्पनीमा नेशनल लाइफ रहेको छ । नेशनलले पनि सो अवधिसम्म २ अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।