नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमा किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?

२० बैशाख २०८०, बुधबार ११:२२

काठमाडौं । पछिल्लो केही दिनयता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण बढीरहेको छ । बुधबार शेयरबजार खुलेको केही समयमा नै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उच्च खरिद माग देखिएको छ ।

यो समाचार तयार पार्दासम्म बैंकको शेयर २५ जना लगानीकर्ताले कुल ५० हजार भन्दा बढी कित्ता शेयरका लागि खरिद माग गरेका छन् । तर बैंकको शेयर उच्च खरिद माग हुँदा पनि शेयरमूल्य भने बृद्धि भएको देखिएको छैन । यो समाचार तयार पार्दासम्म बैंकको शेयरमूल्य शुन्य दशमलव ५५ प्रतिशतले घटेर शेयरमूल्य १८१ रुपैयाँमा कायम हुन पुगेको छ ।

तरपनि बैंकको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण बढीरहेको देखिएको छ । केही दिनयता बैंकको शेयर उच्च माग देखिन थालेको छ । बैंकले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन यो नाफा गत वर्षको तुलनामा २२.९६ प्रतिशतले बढी हो । साविक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकआपसमा मर्ज भइसकेपछि बैंकको अधिकांश सूचकहरु बलियो बनेको तथ्याङ्कले देखाएको छ । यसकारण पनि लगानीकर्ताहरु बैंकको शेयर किन्न आकर्षित भएका हुन् ।

बैंकले एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै इम्पेयरमेन्ट चार्ज रिजर्भ भएका कारण नाफा बढ्न पुगेको हो । तर बैंकको वितरणयोग्य नाफा भने सो अवधिसम्म १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहेको छ । नाफामा सुधार देखिएपनि बैंकको इपीएस भने २.८४ रुपैयाँले घट्न पुगेको छ । दुई बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेपछि चुक्तापुँजी बढेको आधारमा बैंकको नाफा बढ्न नसक्दा इपीएस प्रभावित बन्न पुगेको हो । तर बैंकको अन्य सूचकहरुलाई केलाउने हो भने भविष्यमा बैंकले राम्रै मुनाफा आर्जन गर्ने सम्भावना बढी रहेको छ । यसकारण पनि विज्ञ तथा दक्ष लगानीकर्ताहरुले बैंकको रिर्पोट केलाएर शेयर खरिद माग गरेको हुनसक्ने बुझ्न सकिन्छ ।

यसअघि मर्ज हुनुभन्दा साविक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडले आ–आफ्ना शेयरधनीहरुलाई उत्कृष्ट लाभांश समेत बाँड्दै आइरहेको छ । अझ दुई बैंक एकआपसमा गाभिएर मजबुत बनेपनि झनै शेयरधनीहरुलाई मख्ख बनाउन सक्ने लाभांश प्रदान गर्न सक्ने बैंकको क्षमता रहेको छ । यसकारण पनि केही दिनयता बैंकको शेयरमूल्य घटेको दाउ पारेर लगानीकर्ताहरुले धमाधम शेयर खरिद गर्न सक्ने बुझ्न सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*