आइएमई लाइफको जीवन बीमा कोष र खुद बीमा शुल्क आम्दानी दुवैमा बृद्धि, आम्दानी बढ्दा मुनाफामा उच्च बृद्धि

२० बैशाख २०८०, बुधबार ०९:४६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीको जीवन बीमा कोष र खुद बीमा शुल्क आम्दानी दुवैमा उच्च बृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको चैंत मसान्तसम्म कम्पनीले ६ अर्ब ७ करोड ७३ लाख २१ हजार रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीले जीवन बीमा कोषको आकार ४३.९ प्रतिशतले बढाउन सफल भएको हो । गत वर्ष कम्पनीले यस अवधिसम्म ४ अर्ब २४ करोड ७२ लाख रुपैयाँ कोषमा खडा गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिसम्म कम्पनीले जगेडा कोषको आकार समेत ८० प्रतिशतले बढाउन सफल भएको छ । गत वर्ष यसै अवधिसम्म ६० करोड रुपैयाँ संचित रहेको यस्तो कोषमा कम्पनीले चालु आवको नौ महिनाको अवधीमा अवधिसम्म १ अर्ब १० करोड रुपैयाँ थप संचित गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको बलियोपना र बीमितले लाभ पाउने आधार जीवन बीमा कोष हुने गर्दछ । त्यस्तै, यता कम्पनीले भविष्यमा हुन सक्ने जोखिम बहनका लागि महाविपत्ती कोषमा १२ करोड २२ लाख रुपैयाँ संचित गरेको छ । महाविपत्ति कोषको आकार पनि गत वर्षको तुलनामा ९८.४१ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ६ करोड १६ लाख रुपैयाँ संचित गरेको थियो ।

त्यस्तै, आइएमई लाइफले यस अवधिसम्म २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २१.४९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ खुद बीमा खुल्क आर्जन गरेको थियो । साथै कम्पनीले चैत मसान्तसम्म ७९ करोड ३६ लाख रुपैयाँ बराबरको खुद बीमा दाबी भुक्तानी गरेको छ ।

यता कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुन आम्दानी समेत गत वर्षको तुलनामा ५१.७१ प्रतिशतले बढेर ६१ करोड ७६ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको व्यवस्थापन खर्च सामान्य बढेर ३७ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

अधिकांश सूचकमा सुधार देखिएपनि कम्पनीको अभिकर्ता कमिशन भने १७.१९ प्रतिशतले घटेर ३२ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ । नियामकीय नियमका कारण बीमा अभिकर्ताहरुले पाउने रकम घटेको छ । चालु आवको नौ महिने अवधिसम्म कम्पनीले खुद नाफा ७८ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले चैत मसान्तसम्ममा १८ करोड २४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले १० करोड १९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुन सक्नेछ ।

यस्तै चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी शतप्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिसम्म जारी बीमा पोलिसी संख्या समेत ५१.०३ प्रतिशतले बढेर ३ लाख ५३ हजार १३७ पुगेको छ ।

साथै समिक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ८.६९ रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ । साथै कम्पनीको प्रतिशेयर सम्पत्तिको मूल्य २६० रुपैयाँ ७२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*