निर्जीवन बीमा कम्पनीहरु मोटर र सम्पत्ति बीमामा मात्रै सिमित, हवाई र लघुबीमा न्यून (सूचि सहित)
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य स्रोत मोटर बीमा देखिएको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि न्यून हुँदा बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बीमामा बीमा कम्पनीहरुको निर्भर रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
सरकारले अनिवार्य गरेको मोटर बीमा (तेस्रो पक्ष) मा जबरजस्ती बीमा गर्ने बाध्यकारी नियमले मात्रै निर्जिवन बीमाको व्यवसायमा राहत मिलेको देखिएको छ । तेस्रो पक्ष बीमा नभएसम्म सवारी साधन पास नै नहुने र लाईसेन्स नविकरण नहुने व्यवस्था रहेको छ ।
बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म निर्जीबन बीमा व्यावसायमा मोटर बीमाको हिस्सा ३० प्रतिशत बढी छ । जसमा अधिकतम हिस्सा तेस्रो पाटीको नै रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । निर्जीवन बीमा कम्पनीहरुले चैत महिनासम्ममा मोटर बीमालेखबाट ९ अर्ब ८८ करोड ७३ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । सरकारले मोटर बीमा अनिवार्य गरेको भएकोले सबैभन्दा बढी बीमाशुल्क यसबाट संकलन भएको हो ।
दोस्रोमा सम्पत्ति बीमा लेख रहेको छ । कम्पनीहरुले सम्पत्ति बीमालेखबाट कुल छ अर्ब ६८ करोड १७ लाख ४२ हजार रुपैयाँ संकलन गरेका छन् । त्यस्तै, इन्जिनियर तथा ठेक्का बीमा लेखबाट पाँच अर्ब २६ करोड २६ लाख ५१ हजार, विविधबाट तीन अर्ब २६ करोड १ लाख ४ हजार बीमा शुल्क आर्जन भएका छन् ।
यसका साथै, चैत महिनासम्ममा कम्पनीहरुले कृषि तथा बालि बीमालेखबाट एक अर्ब ८१ करोड ५१ लाख १८ हजार, सामुन्द्रिक बीमाबाट एक अर्ब ५४ करोड ४२ लाख ९३ हजार र हवाई बीमालेखबाट एक अर्ब ५० करोड ६४ लाख ९४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
कम्पनीहरुले लघु बीमाबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले लघुबीमा मार्फत जम्मा पाँच करोड ६७ लाख ९१ हजार रुपैयाँ आर्जन गरेका छन् ।