चैत महिनामा निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्बमाथि, शिखर, नेशनल र हिमालयन एभरेष्टको देखियो प्रगति
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कअनुसार १६ निर्जीवन बीमा कम्पनीले चैतमा मात्रै सवा ४ अर्ब प्रिमियम कलेक्सन गरेका हुन् ।
सवैभन्दा बढी शिखर इन्स्योरेन्सले ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३८ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, तेस्रोमा धेरै प्रिमियम कलेक्सन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । सो कम्पनीले चैत महिनामा ३७ करोड ७४ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार गरेपछि सो कम्पनीले पनि चैत महिनामा मात्रै ३६ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, नेको इन्स्योरेन्सले २८ करोड ४४ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले २३ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सले २२ करोड ४३ लाख, आइएमई जनरल इन्स्योरेन्सले २१ करोड १८ लाख, अजोड इन्स्योरेन्सले २० करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
साथै सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले १८ करोड ५६ लाख, युनाइटेड इन्स्योरेन्सले १६ करोड ८४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १४ करोड ९२ लाख, ओरियन्टल इन्स्योरेन्सले १४ करोड २४ लाख, नेपाल इन्स्योरेन्सले १४ करोड ७२ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ८५ लाख, र नेशनल इन्स्योरेन्सले ११ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
फागुन महिनाको तुलनामा कुनले कति प्रगति गरे ?
फागुन महिनाको तुलनामा चैत महिनामा १६ वटै निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय बढ्न पुगेको छ । निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा व्यवसाय बढाउन सफल भएको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी प्रगति गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले चैत महिनामा १२२.२१ प्रतिशतले व्यवसाय बढाएको छ । त्यस्तै, दोस्रोमा नेशनल इन्स्योरेन्स रहेको छ । नेशनललले चैत महिनामा निर्जीवन बीमा व्यवसाय ८९.१३ प्रतिशतले बढाएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि सो अवधिसम्ममा ७८.६२ प्रतिशतले व्यवसाय बढाएको छ । युनाइटेड इन्स्योरेन्सले ६७.२० प्रतिशत, राष्ट्रिय बीमा कम्पनीले ६६.९४ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सले ५६.५८ प्रतिशत, अजोडले ३४.७२ प्रतिशत, आइजिआइले ३२.६५ प्रतिशत, सगरमाथा लुम्बिनीले २८.१८ प्रतिशत, प्रभुले २७.८५ प्रतिशत, नेकोले २७.८५ प्रतिशत, सिद्धार्थ प्रिमियरले २५.९८ प्रतिशत, एनएलजीले २१.९२ प्रतिशत, प्रुडेन्सियलले १३.६० प्रतिशत र सानिमा जिआइसी इन्स्योरेन्सले १०.२७ प्रतिशतले प्रगति गरेको छ ।