संसदमा उठ्यो आर्थिक संकटको मुद्दा, सांसद भिम आचार्यले भने, बैंकहरु जमिन्दार बने पाखा फर्काइयोस्

१२ बैशाख २०८०, मंगलवार १४:२१

काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा देशको जर्जर आर्थिक अवस्थाको बारेमा सांसदहरुले मुद्दा उठाएका छन् । नेकपा एमालेका सांसद भिम प्रसाद आचार्यले देशको अर्थतन्त्र जर्जर हुँदा पनि बैंकहरुले अर्बौ रुपैयाँ मुनाफा कमाएर गाउँ गाउँको जमिन्दारमा रुपान्तरण भएको भन्दै सरकारले पाता फर्काएर नियमन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै सांसद आचार्यले भने, ‘त्यहाँ अराजकता छ, त्यहाँ नियमन गर्ने कुनै निकाय छैन ।’ नेता आचार्यले सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धबृद्धाले पाउँदै आएको रकम रोकिएको, शिक्षक र प्रहरीहरुले पाउने तलव रोकिएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद आचार्यले देशका मुख्य बजारहरु बन्द रहेको र मन्दीका कारण सटरहरु बन्द रहेको, उद्योगहरु संकटग्रस्त अवस्थामा पुगेको बताउँदै देशमा अराजकता फैलिएर चर्को मूल्यबृद्धि गरिएको बताए ।

उनले भने, ‘बैंकहरुले ब्याजदर चर्को बृद्धि गरेका छन्, उहिले उहिले गाउँ गाउँमा जमिन्दारहरुले किसानलाई ऋण दिएर चक्रवर्ती ब्याज लगाएर सम्पत्ति जमिन खोस्थे, आज त्यो जमिन्दारको ठाउँ बैंकहरुले लिएका छन् । कोरोना महामारीको बेला र आजको अवस्थामा बैंकहरुको मुनाफा आधा खर्बभन्दा माथि छ ।’

सांसद आचार्यले देशको तीन खम्वे अर्थनीतिमा अघि बढ्ने कुरा संविधानमा रहेको उल्लेख गर्दै लघुवित्त र सहकारीको भूमिका गरिबी न्यूनिकरणमा उल्लेख्य भूमिका रहेको उल्लेख गर्दै आज नियमन नगर्ने र अराजकता देखाएर लघुवित्तको अर्बौ रुपैयाँ संकटमा पुर्याइएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*