राक्सिराङका नौ घर चेपाङलाई बस्ती खाली गर्न रिद्धिसिद्धि सिमेन्टद्धारा गुण्डागर्दी र धम्की, चेपाङ सभ्यता जोगाउन बस्ती खाली नगर्ने निमुखाको अडान

११ बैशाख २०८०, सोमबार २१:५५

मकवानपुर । हेटौंडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानीका कारण राक्सिराङका चेपाङ वस्ती जोखिममा परेको छ । कम्पनीले वस्तीलाई जोखिममा पार्दै सञ्चालन गरेको खानीका कारण वर्षदिनमा आधा समय जंगली कन्दमूल खाएर गुजारा गर्ने चेपाङ समुदाय उठिबास लाग्ने भयले त्रसित बनेका छन् । पीडित निसहाय चेपाङ जनताले सिमेन्ट उद्योगले प्रशासन, गुण्डागर्दी गर्दै तत्काल बस्ती खाली गर्न धम्की दिँदै आएको गुनासो गरेका छन् ।

रिद्धिसिद्धि उद्योगको राक्सिराङ्–४ स्थित चुनढुंगा खानीले गिङ्गुङ क्षेत्रमा उत्खनन् सुरु गरेसँगै ९ घर चेपाङ परिवार उच्च जोखिममा परेको छ । स्थानीयबासीले चर्को विरोध गर्दा गर्दै पनि कम्पनीले गुण्डा, बिचौलिया र स्थानीय राजनीतिक दलका नेताहरुलाई घुस खुवाएर जनतालाई बस्ती छोड्न धम्की दिइएको छ ।

उद्योगले उत्खनन् क्षेत्रको बस्तीलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण नै नगरी उत्खनन् कार्यलाई निरन्तरता दिँदा स्थानीयबासी त्रासमा बाँचिरहेका छन् । कम्पनीले अन्यत्र उत्खनन् गर्नुपर्नेमा बस्तीतर्फ उत्खनन् कार्य अघि बढाएको स्थानीय चेपाङ समुदायको गुनासो छ ।

 

‘हामी त्रासैत्रासमा बाँचिरहेका छौँ । घरमा बच्चा बुढा सबै छन् । घरमाथि खानीबाट पाँगो माटो बगेर आउँछ, घर पुर्नै लागिसक्यो । दिउँसो त जसोतसो भागौँला । तर, राती आयो भने हाम्रो परिवार नै बाँच्दैन । रातभर पहिरो आउला कि भनेर चनाखो भएर बस्ने गरका छौँ ।’ स्थानीय सानुमाया चेपाङले दुखेसो पोखिन् । उनले आफ्नो परिवारको तत्काल पुर्नवास वा घरबासको सुरक्षा गर्ने व्यवस्था मिलाउन अपिल गरेकी छिन् । ‘खानीको माटोले बारीमा लगाएको खेतिपाती, अन्नबाली सबै पुरिसक्यो । घर कतिबेला पुर्ने हो थाहा छैन । गरेर खाने पनि ठाउँ भएन, बसाईँ सरौँ भने कता जानु ?’ सानुमायाले गहभरी आँसु पार्दै भनिन् ।
स्थानीय दिलबहादुर चेपाङको पीडा उस्तै छ । खानीका कारण बारीमा खेतिपाती गरेर परिवार पाल्ने अवस्था नरहेको उनको गुनासो छ । ‘धुलोधुँवा भए त हुन्थ्यो नी पाँगो हिलो माटो सबै बगेर जग्गामा आउँछ । हिउँदमा त यस्तो छ, अब बर्खाको समयमा त झन ठूलो पहिरो आउने डर हुन्छ । आफु कसरी जोगिने, परिवार कसरी जोगाउने ? कि त न्याय चाहियो, कि जग्गा किनेर हामीलाई अन्यत्र सारियोस्,’ उनले भने ।
त्यस्तै स्थानीय माइलीमाया चेपाङ उद्योगको दादागिरीले आफुहरु मर्नु न बाँच्नु अवस्थामा पुगेको बताउँछिन् । ‘बरु घरजग्गा बेचेरै हामी अर्कै ठाउँमा बसाई सर्छौँ भन्दा पनि चलनचल्तीको मूल्यमा जग्गा खरिद गर्न खानीका सरहरू मान्नुहुन्न । सित्तैमा, माग्नुहुन्छ । सस्तो दिनेभए किन्छौँ नत्र हामी खन्दै गर्छौँ पछि कुरा गरौँला भन्नुहुन्छ । हाम्रो सम्पत्तिको मूल्य उहाँहरुले तोक्न मिल्छ । उनले आक्रोश पोखिन् ।

कम्पनीले स्थानीय चेपाङ समुदायलाई प्रति घर ५० हजार रुपैयाँ लिएर बस्ती खाली गर्न धम्की दिँदै आएको छ । सो कार्यमा स्थानीय गुण्डा र बिचौलियाको समेत प्रयो गरेको पाइएको छ । आफै आर्थिक संकट र क्यास फ्लोको संकटमा परेको रिद्धिसिद्धी सिमेन्टले निमुखा गरिब चेपाङ समुदायमाथि गरेको ज्यादतीको सम्बन्धमा कसैले पनि आवाज नउठाएको आरोप स्थानीयबासीको छ । स्थानीयबासीले चेपाङ वस्तीको ऐतिहासिकता रहेको जनाउँदै बस्ती कायम राख्न र उत्खनन् कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।

चेपाङ समूदायको हितका सन्दर्भमा क्रियाशील साझा संस्था नेपाल चेपाङ संघले ९ घर चेपाङ परिवारको सुरक्षाको लागि उद्योगसँग पटक–पटक छलफल गरेको भएपनि उद्योगले स्थानीयको मर्कालाई वेवास्था गर्दै आश्वासन मात्रै दिएर झारा टार्ने गरेको संघका बागमती प्रदेश अध्यक्ष खुसीलाल प्रजाले बताउँछन् । ‘कहिले आश्वासन दिएर घर पठाउँछन्, कि त सित्तैमा जग्गा दिए हुन्थ्यो भन्ने खालको कुरा गरेर लालाबाला भएका चेपाङ समुदायलाई उठिबास लगाउने योजना ल्याईन्छ । कम्तिमा चलनचल्तीको मूल्यमा जग्गा किनिदिनुपर्यो भन्दा पनि कुनै सुनुवाई भएन ।’

सो क्षेत्रमा हाल ९ घर चेपाङ परिवारको बसोवास छ । उनीहरूको कूल १०३ रोपनी जग्गा छ । रिद्धिसिद्धी सिमेन्टको अत्याचार सहन नसकेपछि केही घर परिवार जग्गाजमिन त्यसै छाडेर विस्थापित भइसकेका छन् ।

चेपाङ संघ राक्सिराङ–४ का अध्यक्ष जितन चेपाङले केही दिन अघि प्रेस विज्ञप्ति जारी गर्दै सो क्षेत्रबाट विस्थापित गराउन स्थानीयलाई विचौलियाहरूले डर धम्की देखाउने गरेको समेत उल्लेख गरेका छन् । खानी क्षेत्रमा अस्थायी प्रहरी चौकी राखिएको भए पनि प्रहरी प्रशासनले उद्योग र ठूला मान्छेको मात्रै कुरा मान्ने गरेको भन्दै उनले उद्योग प्रभावित चेपाङ समूदायको रक्षाका लागि स्थानीय प्रशासनले चासो देखाउनुपर्ने माग समेत गरेका छन् ।

चेपाङ बस्ती उठिबास लगाउने सम्बन्धमा रिद्धि सिद्धी सिमेन्टका मुख्य लगानीकर्ता हरि न्यौपानेसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*