बौद्धस्थित ह्यात होटल बन्द गर्ने कि चलाउने ? तीन दिनभित्र जवाफ पेश गर्न सरकारको निर्देशन, लगानीकर्ताको पैसा के हुन्छ ?
काठमाडौं । सरकारी सम्पत्तिको हिसाब गडबढ गरी हडपेर सञ्चालन हुँदै आएको बौद्धस्तित तारागाउँ रिजेन्सी होटल बन्द हुने कि सञ्चालन गर्ने भन्ने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त होटललाई तीन दिने स्पष्टिकरण सोधेको छ ।
मन्त्रालयले आज बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (ह्यात) लाई २७ बुँदे स्पष्टिरणको जवाफ तीन दिनभित्रमा पेश गर्न भन्दै बन्द किन नगर्ने भन्ने आशयको स्पष्टिकरण सोधेको छ । साथै तारागाउँ विकास समितिलाई समेत २२ बुँदे स्पष्टिकरण सोध्दै तारागाउँ हायात रिजेन्सी होटलमा भएको घोटाला काण्डमा संलग्नहरुलाई कारवाही गर्ने सम्बन्धमा स्पष्टिकरण सोधेको छ । मन्त्रालयले तारागाउँ विकास समितिको नाममा बौद्धमा रहेको १५० रोपनी जग्गामा गरिएको घोटाला, सो कार्यमा संलग्न पदाधिकारीहरुको विवरण पठाउन भनिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुुदर किराँतीले कडा र चट्टानी अडानसाथ उक्त होटलको घोटाला काण्डमा छानविन अघि बढाएपछि नेपालको राजनीतिमा तरंग उत्पन्न हुने भएको छ ।
संस्कृति मन्त्रालयले यस्तो कडा स्पष्टिकरणसँगै हायात होटलको भविष्य अन्धकार हुन पुगेको छ । होटल भन्दा पनि अर्बौको सम्पत्ति सर्राफ आईसिटी समुहलाई दिने तारागाउँ विकास समितिका पूर्व पदाधिकारीहरुमाथि समेत अब मन्त्रालयले कडा एक्सन लिने भएको छ । २०५९।०६० सालदेखि यता बालुवाटारको जग्गा काण्ड जत्तिकै ठूलो गोप्य रुपमा सेटिङमा चल्दै आएको सो होटलको काण्ड अब एक एक पर्दाफास हुने भएका छन् ।
तारागाउँ रिजेन्सी होटलको कूल एक करोड ८८ लाख ६६ हजार ५४० कित्ता शेयर नेप्सेमा सूचिकृति छ । पछिल्लो कारोबार प्रतिकित्ता ५१५ रुपैयाँका दरले भएको थियो ।
होटलमाथि सरकारले निर्मम छानविन अघि बढाएसँगै लगानीको रकम के हुन्छ ? भन्ने अर्को विषयले प्रवेश गरेको छ । उक्त होटल पब्लिक कम्पनी भएको र लिक्विडेशन वा सरकारले खरिद गरेमा दुवै अवस्थामा शेयरधनीले दायित्व सम्पत्ति मूल्याङ्कनको आधारमा रकम प्राप्त गर्नेछन् । हुनसक्छ, सर्राफले मच्चाएको ब्रम्हलूटपछि शेयरको मूल्य आकासिएर लगानीकर्तालाई बम्पर चिठ्ठा नै पो पर्छ कि ?