‘सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ वैशाख २२ गतेदेखि हुदै

४ बैशाख २०८०, सोमबार १३:५८

काठमाडौं । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा. लि र फ्युचरेक्स टेड एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा चितवन प्रदर्शनी केन्द्रमा हरेक वर्ष नियमित वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गर्दै आइरहेको अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको सातौं संस्करण “सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०“ यस वर्ष यही वैशाख २२, २३ र २४ गतेमा देशकै मध्ये भागमा अवस्थित आधुनिक सुविधा सम्पन्न चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा आयोजना हुन गइरहेको छ ।

निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड वेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुनेछन् । यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने छन् ।

निशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु, तीन तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु, उद्योगीका छाता संस्थाका प्रतिनिधिहरु आदि अवलोकनकर्ताको रुपमा रहनेछन् ।

उक्त प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने ÷ नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रुपमा रहनेछ । उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका बीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्राण्डिङ, लेबलिङ्ग र प्याकेजिङ्ग प्रक्रियाका सम्बन्धमा अनुभव आदान प्रदान मार्फत ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यवसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पुयाउन महत्वपूर्ण अवसर प्राप्त हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*