चैत महिनामा धमाधम १२ कम्पनीको वार्षिक साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । चैत महिनामा धमाधम १२ वटा कम्पनीको वार्षिक साधारण सभा बस्दैछन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा डाकेका हुन् ।
जसमध्ये ९ वटा लघुवित्त संस्था, दुईवटा जीवन बीमा कम्पनी र दुई अन्य कम्पनी रहेका छन् । लघुवित्त संस्थाहरुमा गणपति लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, नयाँ सारथी लघुवित्त, उन्नती सहकार्य लघुवित्त, आरम्भ चौतारी लघुवित्त, जीवन विकास लघुवित्त, बिजय लघुवित्त, कालिका लघुवित्त, किसान लघुवित्त रहेका छन् भने बीमा कम्पनीहरुमा सन नेपाल लाइफ इन्स्योरेन्स, र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । त्यस्तै, बाराही हाइड्रोपावरको पनि चैत महिनामा नै साधारण सभा बस्दैछ ।
गणपति लघुवित्त
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चैत २५ गते शनिबार ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिका, दुलेगौंडा तनहुँमा बिहान ११ बजे बस्नेगरी छैठौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सो सभाले अन्य कुनै लुघवित्त वित्तीय संस्थासँग एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर वा प्राप्ति सम्बन्धि उपयुक्त प्रस्ताव आएमा सो कार्यको लागि उपयुक्त लघुवित्तको पहिचान गर्न सहमतिपत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्दान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिन वा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखिनेछ ।
यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आव २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ संस्थाले चैत १६ गतेदेखि चैत २४ गतेसम्म बुकक्लोजको मिति तोकेको थियो । यसर्थ चैत १५ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।
जनउत्थान सामुदायिक लघुवित्त
जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन २० गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २६ गते बिहान ११ बजे होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा बस्ने भएको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।
संस्थाले सभा प्रयोजनको लागि चैत १० गते शेयर दाखिल किताव बन्द गरेको छ । तसर्थ चैत ९ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थिती हुन पाउने छन् र साथै संचालकको निर्वाचनमा भोट दिन पाउने छन् ।
नयाँ सारथी लघुवित्त
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते होटल जुुगल, मिरावल चोक, धुलिखेलमा दिउसो १ बजे बस्ने भएको हो ।
सभाले चाल आवको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७८।७९ वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका अन्य वित्तिय विवरणहरु पारित गर्ने प्रस्ताव रहेको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चालु आर्थिक वर्षको मुनाँफाबाट हाल कायम रहेको चुक्ता पुुँजीको १९ प्रतिशतले बोनश शेयर जारी गर्ने प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमिक तय गर्ने प्रस्ताव समेत पारित गर्ने प्रस्ताव रहेको छ । साथै बिजय लघुवित्त वित्तीय संस्थासँग १ः१ अनुपातमा गाभिने वा मर्जरमा जाने सम्बन्धीत सम्पूर्ण प्रस्तावहरु समेत सभामा पेश गरिनेछ ।
कम्पनीले सभा प्रयोजनको लागि चैत १५ गतेका दिन बुकक्लोज गगरेकाले चैत १४ सम्म कायम शेयरधनीले सभामा सहभागि हुन पाउन्छन् ।
उन्नती सहकार्य लघुवित्त
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा यहि चैत ३० गते बस्दैछ । सभा एशियन बुद्ध होटल सि.न.पा.–८ रुपन्देही (भैरहवा)मा बिहान ८ बजे बस्नेछ ।
सो सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धमा आवश्यक सम्पूर्ण कामकारबाही गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजानेछ ।
साथै सभामा गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साथै चालु आव २०७९।८० को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
आरम्भ चौतारी लघुवित्त
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा चैत ३० गते बिहिबार बस्नेगरी आह्वान गरेको हो । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले संस्थाको ७औं साधारण सभा बनेपा पार्टी भेन्यु बनेपा–८, काभ्रेपलाञ्चोकमा बस्ने निर्णय गरेको हो ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै आव २०७८।७९ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । संस्थाले साधारण सभा प्रयोजनका लागि चैत २० गते एकदिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत १९ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।
जीवन विकास लघुवित्त
त्यस्तै, लघुवित्तले चालु आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताब समेत सभामा पेश गर्नेछ । सभाले वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन तयार गर्न मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने÷गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १७ गते एक दिनका लागि बुक्लोजको मिति तोकेको थियो । यसर्थ चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।
बिजय लघुवित्त
बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा चैत २८ गते बस्नेगरी आह्वान गरेको हो ।
सभा बिजय विकास स्रोत केन्द्र, गैंडाकोट–८ नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै सो सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ । यसका साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत गरिने प्रस्ताव पारित गर्ने छ ।
संस्थाले साधारण सभा प्रयोजनको लागि चैत १६ गते देखि चैत २८ गतेसम्म बुक क्लोेज गर्ने निर्णय गरेको थियो । तसर्थ चैत १५ गतेसम्म कायम भएका शेयरधनीहरुले सभामा सहभागि हुन पाउनेछन् ।
कालिका लघुवित्त
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ५ गते बसेको संचालक समितिको निर्णयले सभा चैत २९ गते, बुधबार, होटल टास्क इन्टरनेशनल प्रा.लि. को सभाहल, बुद्धचोक, पोखरामा बिहान ९ बजे बस्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५४.५२ प्रतिशत र सर्वसाधारणको ४५.४८ प्रतिशत कायम गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
किसान लघुवित्त
किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ५ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्ने भएको हो ।
सभाले आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यसका साथै, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात आव २०७८।७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पास गर्ने प्रस्ताव रहेका छन् ।
यस्तै, संस्थाले आर्थिक वर्ष २०७९।८० को लेखापरिक्षण कार्यका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरु रहेका छन् । सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।
संस्थाले साधारण सभा प्रयोजनको लागि चैत २० गते देखि चैत २८ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ, चैत १९ गते सम्म कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् र सहभागि हुन पाउनेछन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक बर्षको साधारणसभाचैत २९ गते बोलाएको छ । कम्पनीले पाँचौ र छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।चैत ७ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले याक एण्ड यती होटल, दरबार मार्ग, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ र गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरीक्षक के.पि.आर एशोसियट्स, चाटर्ड एकाउन्टेन्टस् कृष्ण प्रसाद रेग्मी पुन: नियुक्त हुन योग्य भएको कम्पनीले बताएको छ । साधारण सभामार्फत छलफल र स्वीकृति गराई लेखापरीक्षक नियुक्ती हुनेछ ।
सभामार्फत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट संशोधनका सम्बन्धमा कुनै सुझाव वा निर्देशन भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गरिनेछ । कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तनको विषय पनि सभाका लागि तय गरेको छ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणमा प्रतिकित्ता रू. १०० मा प्रिमियम वापत रू. १५० दशमलव ५० थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५५ मा आईपीओ निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।
कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फागुन १७ गते निवेदन दर्ता गराएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २४ करोड रहेको छ ।
हिमालयन एरभेष्ट इन्स्योरेन्स
लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीको २९औं सभा चैत २९ गते बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
यसका साथै सभामा बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव पेश गर्नेछ । साथै बोनस शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजानेछ ।
यसका साथै गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साथै चालु आव २०७०।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना शेयरधनीहरु निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुकक्लोज गरिसकेको छ । यसर्थ चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।
बाराही हाइड्रोपावर
बाराही हाइड्रोपावर लिमिटेडको सातौं वार्षिक साधारण सभा यहि चैत २७ गते अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट प्रा.लि., बत्तिसपुतली, गौशला, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सो सभाले नियमावलीको नियम २७ (२) र नियम २८ संशोधन गर्नेछ । साथै गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै संस्थापक शेयरधनीतर्फबाट ४ जना संचालक, सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र संचालक एकजना निर्वाचिन गर्ने सभाको एजेण्डा रहेको छ ।