धौलागिरी लघुवित्तले डाक्यो चौथौं वार्षिक साधारण सभा, खप्तड लघुवित्तसँगको मर्जर प्रस्ताव पारित हुने
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले चौथौं साधारण सभा वैशाख १६ गते धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङको सभाहल, बागलुङ नगरपालिका ४ उपल्लाचौरमा बिहान १० बजे बस्नेगरी डाकेको हो ।
सो सभाले वित्तीय संस्थाको मर्जरको क्रममा संस्थाको अधिकृत पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पश्चात खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर, पुँजी र सम्पूर्ण सम्पत्ति दायित्व एकीकृत गरी धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार संचालन गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकाले मर्जरपश्चात बन्ने तदर्थ समितिमा सर्वसाधारणको तर्फबाट एक जना संचालक पठाउने समझदारी भएअनुरुप उक्त तदर्थ समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्वको लागि नाम पठाउन र मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
यसका अलावा सो सभामार्फत गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरिनेछ ।
साथै संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने सभाको एजेण्डा समेत रहेको छ । साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख १ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत ३० गतेसम्म कायम शेयरधनीहरु मात्रै सभा मात्र उपस्थित हुन पाउनेछन् ।