एकै दिन नेपाली बैंकिङ प्रणालीबाट छ अर्ब चुहियो, ठूला व्यापारीलाई जोगाउन ऋण रिकल गर्दै बाणिज्य बैंकहरु
काठमाडौं । हिजो मंगलबार एकै दिन नेपाली बैंकिङ प्रणालीबाट दुई अर्ब चुहिएको छ । सोमबार कूल ५४ खर्ब २६ अर्ब निक्षेप रहेको बैंकिङ प्रणालीबाट दुई अर्ब रुपैयाँ चुहिएर मंगलबार ५४ खर्ब २४ अर्बमा झरेको छ । उक्त रकम निक्षेप झिकिएको नभई ठूला ऋणीहरुको कर्जा रिकल (भाखा नाघेका ऋणलाई पुनः ऋण थपेर नविकरण गर्ने कार्य) गरिएको बुझिएको छ ।
देशको आर्थिक अवस्था उस्तै छ, जनताको हात रित्तो छ, तर बैंकहरुमा निक्षेप बृद्धि भएको भन्दै गत एक सातादेखि समाचारहरु आइरहेका थिए । तथ्याङ्कमा पनि पछिल्लो समय एकाएक बैंकहरुमा निक्षेप थपिएको थियो । तर, एकाएक थपिएका निक्षेपहरु घट्न थालेपछि नयाँ ऋण प्रवाह ठप्प भएको अवस्थामा उक्त निक्षेप खराब कर्जा रिकल गर्न प्रयोग भएको चर्चा बैंकिङ क्षेत्रमा चलिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हिजो रातिसम्म नेपाली बैंकिङ प्रणालीबाट एकै दिन दुई अर्ब निक्षेप घटेर ५४ खर्ब २४ अर्ब रुपैयाँमा झरेपनि बैंकहरुले छ अर्ब कर्जा प्रवाह गरेको देखिएको छ । सोमबार ४८ खर्ब १९ अर्ब रुपैयाँ रहेको ऋण प्रवाह हिजो छ अर्बले बृद्धि भई ४८ खर्ब २५ अर्ब पुगेको छ । सो मध्ये सबै रकम क बर्गका बाणिज्य बैंकहरुबाट मात्रै प्रवाह भएको तथ्याङ्कले देखाएको छ ।
बाहिर निक्षेप बढेको समाचार आएको थियो । तर, यथार्थ यो भन्दा फरक रहेको भेटिएको छ । बैंकहरुमा निक्षेप बृद्धि भएको नभई बैंकहरु कर्जा उठाउन नसकेको अर्बौ रुपैयाँ रिकल गर्नको लागि कृत्तिम निक्षेप देखाइएको र अबको केही दिनमा कम्तीमा ४०।५० अर्ब रुपैयाँ ऋण प्रवाह भएको भन्दै ठूलो व्यापारीले लिएको ऋण रिकल गरेर कालोसूचिमा जोगाउन नयाँ डिजाईन रचिएको देखिएको छ ।
नेपाल बैंकिङ क्षेत्रमा यति ठूलो फ्रड हुँदा पनि नियामक निकाय नेपाल राष्ट्र बैंक मौन झै छ । भविष्यमा बैंकहरुमा जागिर खोज्ने नियामकीय उच्च अधिकारीहरुको प्रवृत्ति र आशा अनि लालचाको कारण बैंकिङ क्षेत्रमा प्रभावकारी नियमन हुन सकेको छैन । जसका कारण नेपाली बैंकिङ क्षेत्रमा हुँदै आएको गलत क्रियाकलापहरु रोकिन सकेको छैन ।
एक पूर्व बैंकरले भने, ‘प्रत्येक त्रैमासको अन्त्यमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो धन्दा चल्दै आएको छ, राष्ट्र बैंकले आँखा चिम्लिँदा विगतदेखिकै यस्तो पुनरावृत्ति भइरहेको छ ।’ नयाँ अर्थमन्त्रीमा डा. प्रकाशशरण महतले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा नेपाल राष्ट्र बैंकमाथि पटक पटक प्रश्न चिन्ह उठाएका थिए । अहिले बैंकहरुमा भइरहेको लोन रिकलबारे अर्थमन्त्री डा. महतले के गर्दा रोकिन्छ ? राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरमाथि प्रश्न चिन्ह उठेको छ ।