एशियन लाइफ इन्स्योरेन्स १६औं वर्षमा प्रवेश, जीवन बीमा ब्यवसायमा उत्कृष्ट प्रदर्शन गर्न सफल
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आजबाट १६औं वर्षमा प्रवेश गरेको छ । सबैका लागि सधैंका लागि नाराका साथ स्थापना भएको कम्पनीले १५औं वर्ष पुरा गरी १६औं वर्षमा प्रवेश गरेको हो ।
सो अवसरमा कम्पनीले जीवन बीमा क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्न सहयोग गर्ने सम्पूर्ण बीमित, व्यवसायिक अभिकर्ता, नियमनकारी निकाय, कर्मचारी, शेयरधनी, संचालक समिति, व्यवसायिक साझेदारीलाई कृतज्ञता जाहेर गरेको छ ।
साथै कम्पनीले वार्षिकोत्वसवको अवसरमा देशभरका शाखा, उपशाखा मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजना गरिरहेको कम्पनीले सो अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विगत १५ वर्षदेखि कम्पनीले जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ, जीवन बीमा कोष ३५ अर्ब ६० करोड रुपैयाँ, कुल लगानी ३९ अर्ब ८ करोड, चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
साथै कम्पनीले २०७९ को गत फागुन मसान्तसम्ममा ४० अर्ब ८५ करोड रुपैयाँ र चालु आव २०७९।८० को फागुन मसान्तसम्ममा ४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । सो अवधिसम्म कम्पनीको बीमालेख संख्या ६ लाख ११ हजार रहेको छ ।
कम्पनीले देशैभर १५१ शाखा कार्यालयबाट बीमितहरुलाई जीवन बीमा सेवा दिदै आइरहेको छ ।