अर्थमन्त्री डा. महतद्वारा पदभार ग्रहण, संकटपूर्ण अर्थतन्त्रलाई लयमा फर्काउने प्रतिबद्दता
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरी अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसका प्रवक्ता महत अर्थमन्त्री बनेका हुन् । पदभार ग्रहण गर्दैै नवनियुक्त अर्थमन्त्री महतले संकटपूर्ण अर्थतन्त्रलाई लयमा फर्काउने बताएका छन् । साथै उनले लगानीको वातावरण समेत बनाउने बताए ।
आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै आज उनले भने, ‘साधारण खर्च धेरै छ। यसमा निर्मम हुनै पर्छ । हामी अनिवार्य बाहेकका खर्च कटौती गर्नेछौं ।’पूँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको प्रति उनले चिन्ता व्यक्त गरे ।
‘अर्थमन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्ने गरि निर्णय गर्नेछु’ उनले भने, ‘अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ ।’देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित भएको र सिपमुलक जनशक्ति पलायन भइरहँदा अर्थतन्त्र संकटतर्फ गएको उनले बताए ।
अर्थतन्त्रमा सुधार ल्याउन स्वदेशी र विदेशी लागनीको आवश्यकता रहेकोले गैर आवासीय नेपालीलाई लगानी गर्न उनले आग्रह गरे ।देशको अर्थतन्त्र आन्तरिक कारणले मात्र नभइ वाह्य कारणले पनि समस्यामा परेको उनको भनाइ छ ।