तल्लो खारे जलविद्युत आयोजनामा तोडफोड, २५ लाख रुपैयाँ बराबरको क्षति, इप्पानद्वारा ध्यानाकर्षण
काठमाडौं । युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजनाको हेडवर्क साइटमा एक आपराधिक समूहले तोडफोड गरेको छ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका स्थित उक्त आयोजनाको हेडवर्क साइटमा चैत १४ गते आपराधिक समूहले तोडफोड गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको हो ।
साथै सो समूहले कर्मचारीमाथि समेत सांघातिक आक्रमण गरेको स्रोतले जनाएको छ । सो घटनाप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)ले गम्भीर ध्यानाकर्षण जनाएको छ । इप्पानले आयोजनालाई उचित क्षतिपूर्तीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानार्षण गराउनुका साथै घाईते भएका आयोजनाका कर्मचारीको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने ब्यवस्था गर्न समेत स्थानीय प्रशासनसँग माग गरेको छ ।
उक्त आपराधिक घटनामा संलग्न व्यक्तिहरुले कानूनी कारबाही अगाडि बढाएमा पावरहाउस लगायत अन्य क्षेत्रमा पनि कर्मचारी र आयोजनाको अन्य सम्पत्ति माथि आक्रमण गर्ने धम्की अझै पनि दिइरहेको बुझिन आएको इप्पानले बताएको छ । साथै कर्मचारीहरु भयभित रहेको र शान्ति सुरक्षाको प्रत्याभूती नहुँदा काम गर्ने मनोबल नरहेकोले नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायले सम्पूर्ण कर्मचारी र आयोजनाको सम्पत्तिको सुरक्षाको व्यवस्था अबिलम्ब मिलाई सुरक्षाको प्रत्याभूती गराउन इप्पानले माग गरेको छ ।
परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभुती गराउन इप्पानले माग गरेको छ । साथै तत्काल उक्त घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडा कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने ब्यवस्था मिलाउन ईप्पानले सरकारसँग माग गरेको छ ।