लाभांश प्रस्तावसहित महुली लघुवित्तले डाक्यो साधारण सभा, प्रिमियममा एफपीओ निष्काशन र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत १४ गते बसेको संचालक समितिको बैठकले संस्थाको १०औं साधारण सभा यहि वैशाख ९ गते बस्ने निर्णय गरेको हो । सभा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय महुली, सप्तरीमा बिहान ११ बजे बस्नेछ ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै सभामा प्रिमियममा एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव समेत पेश गर्नेछ । यसका साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्नग।गाभिने वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ संस्थाले चैत २९ गते एकदिनका लागि बुकक्लोजको मिति ताकेको छ । यसर्थ चैत २८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।