झण्डै आइपीओकै मूल्यमा प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । बैंकका केही विद्यमान संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ९ लाख कित्ता सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्था जोकोहीले सेयरका लागि बोलकबोल पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रति कित्ता १३० रुपैयाँ तय गरिएको छ । सो शेयर खरिदका लागि कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
चैत २१ गतेबाट बोलपत्र बुझाउन सकिनेछ । बोलपत्र बुझाउने अन्तिम म्याद चैत २९ गते रहेको छ । आवेदकले न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फारम सानिमा क्यापिटलबाट प्राप्त गरी क्यापिटलमा नै बुझाउन सकिनेछ ।