डिजिटल लाइसेन्स देखाएरै सवारीसाधन चलाउन पाउने व्यवस्था गर्ने तयारी
काठमाडौं । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत डिजिटल लाइसेन्स देखाएरै सवारीसाधन चालाउन पाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । सरकारले करोडौं रकम खर्च गरेर निमार्ण गरेको नागरिक एपको प्रभावकारी बारे प्रश्न उठेपछि यातायात मन्त्रालयले गृहमन्त्रालय मार्फत ट्राफिक महाशाखासँग छलफल प्रक्रिया अघि बढाएको हो ।
कुनैपनि व्यक्तिले आफुसँग भएको सवारी चलक अनुमति पत्रलाई नागरिक एपमा लिंक गरेर हेर्न पाउने व्यवस्था छ । तर, नागरिक एपमा लिंक गरेर देखिने डिजिटल लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिदैनन् ।
आफ्नो लाइसेन्स डिजिटल रुपमा नागरिक एपबाट देखाए पनि सेवाग्राहीले भौतिक रुपमै बोकेर हिड्नुपर्ने बाध्यात्मक अवस्था छ । कुनै कारण लाइसेन्स बोक्न बिर्सेको खण्डमा ट्राफिक प्रहरीलाई मोबाइल एप मार्फत देखाउदा कारवाहीमा पर्ने गरेका छन ।