ग्लोबल मनी विकः बीमा प्राधिकरणबाट बीमा शिक्षा तथा सचेतनासम्बन्धी के–के भए काम ?
काठमाडौं। ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न भएको छ। ग्लोबल मनी विकको लागि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै देहाय बमोजिमका कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
जसमा बीमा प्राधिकरणले सक्रिय रुपमा सहभागीता जनाएको थियो । एक सातासम्म संचालन भएको कार्यक्रम निकै प्रभावकारी भएको कार्यक्रममा सहभागीहरुले बताए । ग्लोबल मनी वीकको उद्देश्य भनेको मानिसहरुको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यावहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउनुका साथै हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्न रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को संयोजनमा संसारभरका १०९ देशहरुमा ग्लोबल मनी वीक मनाउँदै आइएको छ ।नेपालमा पनि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकको संयोजकत्वमा देशभरी ग्लोबल मनी विक विभिन्न कार्यक्रम गरी मनाइने छ ।
जस अन्तर्गत नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौँ उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतीहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेज स्तरका विद्यार्थी लगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने छ ।
साता भरी नै विभिन्न कार्यक्रम गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट डिजिटल वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम आयोजना गर्न भुक्तानी प्रणाली विभाग मार्फत भुक्तानी प्रणाली अपरेटर र भुक्तानी सेवा प्रदायक बैंक तथा बीमा सम्बन्धी कार्यक्रम संचालन गरि मनाइन्छ । यसै कार्यक्रमलाई निरन्तरता दिँदै बीमा प्राधिकरणले पनि विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ।
बीमा प्राधिकरणका उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठले बीमा र बीमा प्राधिकरण र वित्तिय क्षेत्रको अवस्था बारे विषयक कार्यपत्र प्रस्तुत गरेको थियो । कार्यक्रम संचालन भने प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले दिएका थिए । कार्यक्रममा उठेका सवालहरूको जवाफ उपनिर्देशकद्धयले नै दिएका थिए ।
कार्यक्रममा बैंकमा पैसा बचत गर्नुको साथै बीमा पनि एउटा जोखिम सुरक्षण र बचतको उचित विकल्प हो भन्ने जानकारी कार्यक्रममा दिइएको थियो । कार्यक्रममा सहकारीमा आवद्ध महिला, स्वयंसेविका लगाएत अन्य महिलाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहकारी कर्मी, बीमा कम्पनीमा कार्यरत नयाँ कर्मचारी, विद्यार्थी, बीमा अभिकर्ता, पुँजी बजारका साना लगानीकर्ता लगायतको सहभागिता थियो ।
बीमाको ज्ञान र वित्तीय शिक्षा अभिवृद्धि गर्ने तथा यसको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले आयोजना गरिएको ग्लोबल मनी विकमा प्राधिकरणले विभिन्न कार्यक्रमहरुको समन्वय एवं संचालन गरेको थियो।
प्राधिकरणले विभिन्न विद्यालयहरुमा बीमा र बैंकको वित्तिय जनचेतना जगाउँदै मत्स्य नारायण साना किसान कृषि सहकारीमा र नेपाल बीमा प्राधिकरणकै तालिम हलमा नवप्रवेशीक कर्मचारीहरुलाई बीमा र बैंकिङ सम्बन्धी तालिम दिएर कार्यक्रम सम्पन्न गरेको छ।
प्राधिकरणले मच्छेगाउँमा संचालन गरिएको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा बचत र बीमा कसरी गर्न सकिन्छ भन्ने बारेमा सहकारीमा आवद्ध रहेका स्थानीय महिलाहरुलाई त्यसको महत्व बुझाउदै कार्यक्रम सम्पन्न गरेको थियो । भने बीमक र बीमा प्राधिकरणका नवप्रवेशी कर्मचारीहरुलाई बीमा क्षेत्रको अवस्था र भावी दिनमा आउन सक्ने परिर्वतन हरुको बारेमा जानकारी गराई कार्यक्रम समापन गरिएको थियो ।
प्राधिकरणका निर्देशक उपनिर्देशक राजेन्द्र महर्जनको ग्लोबल मनी विकको बारेमा विस्तृत जानकारी दिई प्रशिक्षण दिइएको थियो भने कार्यक्रमलाई सफल पार्न विभिन्न अन्तरक्रिया कार्यक्रमहरु पनि राखिएको थियो ।
कार्यक्रमले बीमा र वित्तिय क्षेत्रको सूचना, गतिविधि तथा महत्वको बारेमा सर्वसाधारणमा ब्यापक सञ्चार हुने र लगानीकर्ता उत्साहित हुने, वित्तीय साक्षरता बढ्ने प्राधिकरणको अपेक्षा रहेको छ ।
विश्व वित्तीय सप्ताह–२०२३ मा सञ्चालित उल्लिखित कार्यक्रमहरूबाट बीमा तथा वित्तीय साक्षरता गतिविधि तथा महत्वको सम्बन्धमा आम सर्वसाधारणमा जानकारी प्राप्त भई वित्तीय साक्षरता तथा बीमा क्षेत्रको सचेतना अभिवृद्धि हुने र बीमा बजारमा सुसूचित भई बीमा क्षेत्र उत्साहित हुने र यसबाट बीमा बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बीमा प्राधिकरणले लिएको छ।