पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी हुने, को बन्ला अर्थमन्त्री ?
काठमाडौं । वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट पूर्ण बहादुर खड्काको नेतृत्वमा आठ जना मन्त्री सहभागी हुने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने निर्णय गरेको हो । हाललाई सरकारको नेतृत्व उप सभापति पूर्ण बहादुर खड्काले गर्ने निर्णय भएको जनाइएको छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेसलाई ८ मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड तयार भएका छन् । सो आधारमा कांग्रेसले कसको नेतृत्वमा जाने भन्ने निर्णय गरेको हो । अब उक्त टिममा को को हुने भन्ने सूचि तयार गर्नेछ । मन्त्रालयको सम्बन्धमा अन्य मिलि सकेको भएपनि अर्थ र गृहमन्त्रालय कांग्रेस र माओवादी बीचमा कुरा मिलेको छैन ।
माओवादीले गृह मन्त्रालय आफूले लिएर अर्थ मन्त्रालय कांग्रेसलाइ दिने भन्दै आएको छ । तर, अर्थमन्त्रालयमा कांग्रेसभित्रै पूर्ण बहादुर खड्का र डा. प्रकाशशरण महतको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । हालसम्मको अवस्था अनुसार पूर्ण बहादुर खड्काले अर्थमन्त्रालय लिन चाहेका छन् । तर, अर्थमा प्रकाशरण महतको समेत दावी रहेकोले अन्तिम समयमा मात्रै उक्त कुराको छिनोफानो हुने विश्वास गरिएको छ । उता, माओवादीले गृह कांग्रेसलाई दिएर अर्थ आफैले राखेमा नारायणकाजी श्रेष्ठ अर्थमन्त्री बन्ने सम्भावनाको समेत चर्चा चल्न सुरु भएको छ ।
कांग्रेसबाट मन्त्री बन्नेहरुको सूचिमा नयाँ अनुहारहरु देखिएका छन् । उपसभापति धनराज गुरुङ पनि मन्त्री बन्ने सम्भवना उच्च छ । कांग्रेसको शेखर कोइराला र गगन थापा समूहबाट उपसभापति गुरुङ मन्त्री बन्नेको पहिलो लिस्टमा छन् । यस्तै, जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सञ्जय गौतम लगायत पनि मन्त्री बन्न तीव्र लबिङमा छन् ।
कांग्रेस नेता शशांक कोइरालाले दीपक खड्कालाई मन्त्रीका लागि सिफारिस गरेका छन् । आफू भने नेतृत्वको सरकार बन्दा मन्त्री बन्ने कोइरालाले निकटस्थलाई बताउने गरेका छन् । आफू मन्त्री नबनेको अवस्था प्रकाशमान सिंह राजन केसीलाई मन्त्री बजाउने चर्चा छ । सभापति देउवालाई मन्त्री छान्न सकस छ ।