सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजदेखि शुभारम्भ, यस्तो हुनेछ सानिमा रिलायन्स लाइफ
काठमाडौं । वि।स। २०७४ सालमा बीमा प्राधिकरणले नयाँ लाईसेन्स वितरण गर्ने क्रममा एकै आर्थिक बर्षभित्रै लाइसेन्स पाएका सानिमा लाइफ र रिलायन्स लाइफको आजबाट एकिकृत कारोबार शुभारम्भ हुँदैछ। ६ बर्ष सफलतापूर्वक व्यवसाय गर्दै आएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणले तोकेको क्यापिटल प्लानको न्यूनतम पुँजि पुराउन आजबाट एकिकृत कारोबार गर्दैछ ।
दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट आजबाट एकिकृत कारोबार हुँदैछ। एकिकृत कारोबारपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षतर्फ भने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द कोडिया हुनेछन्।
त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सानिमा लाइफको तर्फबाट शिवनाथ पाण्डेले आज बीमा प्राधिकरणबाट शपथ लिँदै नयाँ नियुक्ति पनि लिने भएको छन् । शिवनाथ पाण्डे राष्ट्र बैंैकका पूर्व कर्मचारी र सूर्या लाइफका पूर्व सिईओ समेत हुन् ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो ।
त्यस्तै फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट गाभ्ने गाभिने कम्पनीको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पुर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनीले सानिमा रिलायन्स लाइफले सकार्ने गरी स्वीकृति पाएको थियो ।
त्यस अनुसार संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर पश्चात सानिना रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट रजिष्टर्ड तथा प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने निर्णय गरेको हो ।
हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ छ। मर्जरपछि चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको वित्तिय अवस्था
चुक्तापुँजी
चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्ज भएपछि ‘सानिमा रिलयान्स लाइफ’ को कुल चुक्तापुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमाससम्ममा सानिमा लाइफको २ अर्ब र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । यी दुबै कम्पनीबीच एकआपसमा गाभिई बन्ने कम्पनीको चुक्तापुँजी सवा चार अर्ब पुग्नेछ ।
जगेडा कोष
चालु आवको पुस मसान्तसम्ममा सानिमा लाइफको जगेडा कोषमा ३५ करोड ९० लाख ३ हजार रुपैयाँ संचित रहेको छ भने यता रिलायन्स लाइफको जगेडा कोषमा ३९ करोड ९४ लाख १२ हजार रुपैयाँ संचित रहेको छ ।
दुबै कम्पनीबीच एक आपसमा गाभिई बन्ने कम्पनीको जगेडा कोषमा अब कुल ७५ करोड ८४ लाख १५ हजार रुपैयाँ संचित हुनेछ ।
जीवन बीमा कोष
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्सले जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै सो अवधिसम्ममा ४ अर्ब २५ करोड ३३ लाख ४९ हजार रुपैयाँ जीवन बीमा कोषमा संचित गर्न सफल भएको छ ।
त्यस्तै, सानिमा लाइफले पनि सो अवधिसम्म ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँ जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।
मर्जरपछि यी दुवै कम्पनीले एकीकृत कारोबार गरेपछि ‘सानिमा रिलायन्स लाइफ’ को जीवन बीमा कोषमा ८ अर्ब ३३ करोड ८७ लाख ४४ हजार रुपैयाँ संचित रहनेछ ।
दाबी भुक्तानी
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्सले ४७ करोड ७१ लाख ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
त्यस्तै, यता सानिमा लाइफले पनि सो अवधिसम्म ३१ करोड ३५ लाख ९० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कायम पोलिसी संख्या
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा सानिमा लाइफ इन्स्योरेन्सको ९० हजार ४७५ कायम पोलिसी संख्या रहेको छ भने यता रिलायन्स लाइफको ४ लाख ७३ हजार ३८६ कायम पोलिसी संख्या रहेको छ ।
प्रतिशेयर आम्दानी, नेटवर्थ र कुल सम्पत्तिको मूल्य
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा लाइफ इन्स्योरेन्सको वार्षिकी प्रतिशेयर आम्दानी (इपीएस) ११ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३४२ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७२ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३२४ रुपैयाँ ४६ पैसा रहेको छ ।
दुई कम्पनीको यस्तो छ संचालक समिति
रिलायन्स लाइफ
रिलायन्स लाइफ इन्स्योरेन्सको संचालक समितिमा सात जना रहेका छन् । संचालकको अध्यक्षमा ताराचन्द केडिया बहाल रहेका छन् ।संचालकमा भरत कुमार तोडि, जगदिश कुमार अग्रवाल, अमित कुमार बेगानी, सरिता भट्ट, परिक्षित खेम्का र बद्री प्रकाश पोखरेल बहाल रहेका छन् ।
सानिमा लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्सको संचालक समितिमा ६ जना संचालक रहेका छन् । संचालकको अध्यक्ष पदमा कुमार कोइराला बहाल रहेका छन् ।
संचालक समितिमा घनश्याम थापा, सुवर्ण दास श्रेष्ठ, बद्रि बिशाल घिमिरे, केशव राज के.सी. र शिब हरी घिमिरे संचालकमा बहाल रहेका छन् ।