खराब कर्जा बढ्दै जाँदा बैंकहरूलाई ऋण उठाउन सकस, पाँच बैंक राष्ट्र बैंकको कारबाहीमा पर्न सक्ने

२ चैत्र २०७९, बिहीबार १५:३५

काठमाडौं। वाणिज्य बैंकहरूलाई कर्जा उठाउन सकस परेको बैंकरहरूले गुनासो गर्न थालेका छन् । बैंकहरुको चर्को ब्याजदरको कारण कर्जा उठाउन सकस परेको बैंकरहरुको गुनासो छ ।बैंकहरुले आफूहरुले ऋण तिर्न नसक्ने र नतिर्ने भन्दै संघर्ष गरिरहेका छन् ।

झण्डै एक दर्जन बैंकहरुकोे खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगिसकेको छ। तेस्रो त्रैमासमा पनि यस्को प्रत्यक्ष असर देखिने भएको छ।बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक हेर्ने हो भने अधिकांशको खराब कर्जा बढेको देखिन्छ । केही बैंकहरुले खराब कर्जा घटाए पनि अधिकांशको बढेका कारण औसतमा खराब कर्जा प्रतिशत बढेको हो ।

दोस्रो त्रैमासमा सरकारी लगानी रहेको कृषि विकास बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.५२ प्रतिशत पुगिसकेको छ। ५ प्रतिशतभन्दा धेरै खराब कर्जा भएका बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने छ। बैंकले आगामी दिनमा खराब कर्जा नियन्त्रण गर्न नसके राष्ट्र बैंकको कारवाहीमा पर्ने निश्चित छ।

दोस्रो त्रैमाससम्ममा कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सनराइज बैंक र कुमारी बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ।
वाणिज्य बैंकहरुमध्ये ५ बैंकको खराब कर्जा भने १ प्रतिशतभन्दा कम छ। एसविआई बैंकको खराब कर्जा सबैभन्दा कम ०.४७ प्रतिशत छ भने एभरेष्ट बैंकको ०.५५ प्रतिशत, एनआइसी एशिया बैंकको ०.६१ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको ०.७२ प्रतिशत र सानिमा बैंकको ०.७७ प्रतिशत रहेको छ।

बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराबकर्जाको सूचीमा राख्नुपर्छ । जसलाई निस्क्रिय कर्जा वा खराब कर्जा (एनपीएल) भनिन्छ ।

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । बैंकहरुको खराब कर्जा औसतमा बढे पनि ५ प्रतिशतभन्दा कम रहेकाले जोखिमयुक्त मानिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*