मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाई गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाई गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमणमा कडाई गर्ने निर्णय भएको जानकारी दिएकि छिन् ।
सरकारले नेपाल सरकारका मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय भएको जानकारी गराईन् ।
त्यसैगरी सरकारले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय भएको छ। तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणका लागि वनक्षेत्र उपयोग गर्न दिने निर्णय सरकारले गरेको छ।