अख्तियारको छानविनकै बीचमा सूर्यज्योतिद्धारा रातारात कर चुक्ता, एक आर्थिक वर्षको लेखापरिक्षण अझै भएन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको परेको सुर्यज्योति लाइफले छानविनकै बीचमा तीन आर्थिक वर्षको कर चुक्ता गरी कर चुक्ता प्रमाणपत्र समेत लिएको छ । यद्यपि अझै मर्जर अघिका दुई ज्योति सूर्या लाइफले एक–एक (दुई) आर्थिक वर्षको लेखा परिक्षण गर्न भने बाँकी छ । साथै कर कार्यालयमा बुझाउनुपर्ने कर विवरण र कर चुक्ता समेत लिन बाँकी छ । कर कार्यालयमा सूर्यज्योति लाइफले आव २०७७।०७८ सम्म्को कर चुक्ता लिएको भएपनि आव २०७८।०७९ नन फाइलर नै देखिएको छ ।
तत्कालिन ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक कर्मचारीका अनुसार कम्पनीले अख्तियारले छानविन थालेपछि दुई दिन पहिले सूर्या लाइफले दुई आवको र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक आवको कर चुक्ता लिएको हो । बीमा प्राधिकरणले छानविन सुरु भएको सूचना चुहाएपछि सूर्यज्योति लाइफले मर्जर पूर्व सूर्या लाइफले दुई आर्थिक वर्ष र ज्योति लाइफले एक आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र लिएको कम्पनी विश्वस्त स्रोतले जनाएको छ ।
कम्पनीका एक अधिकारीले भने, ‘बीमा प्राधिकरणका उच्च अधिकारीले कर चुक्ता लिएको रहेनछ, अख्तियारबाट पत्र आयो कर चुक्ता किन नलिएको ?’ भनेर सोधेका थिए । लगत्तै सिईओ प्रकाश बिक्रम खत्रीले दुई वटा टिम बनाएर कर चुक्ता लिन ज्योति लाइफको पोखरा र सूर्या लाइफको मध्यस्तरीय करदाता सेवा कार्यालयमा पठाएका थिए । अख्यिारले उक्त कम्पनीमाथि कर छली गरेको र कर चुक्ता नलिई मर्जरमा गएको भन्दै छानविन गर्न बीमा प्राधिकरणलाई पत्र लेखेको थियो ।
सूर्या लाइफ र ज्योति लाइफले आव २०७७।०७८ सम्मको कर चुक्ता लिएपनि आव २०७८।०७९ को लेखा परिक्षण नै नगरिएको, कर चुक्ता समेत नलिएको विषयमा के हुने ? अन्योलता सिर्जना भएको छ । कम्पनीले बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको कारण वित्तीय विवरण तयार पार्न र लेखा परिक्षण गर्न ढिलाई हुने गरेको तथ्य स्वीकार गरिदिनुपर्ने भन्दै आग्रह गर्दै आएको छ ।
फागुन १५ गतेसम्म कर कार्यालयको सिष्टममा भएको रेकर्ड ।
सुर्यज्योति लाइफलाई छानविन गर्न आयोगले पत्र काटेको दोस्रो पटक हो । यसअघि लेखा परिक्षण नै नगरेको, बार्षिक साधारणसभा नै नगरेको कम्पनीलाई मर्जरमा जान अनुमति दिएको भन्दै छानविन गर्न पत्र काटेको थियो । दोस्रो पटक आयोगले सुर्यज्योति लाइफमाथि कर चुक्ता नलिएको र कर छली गरेको भन्दै छानविन गर्न भनेको छ । तर, प्राधिकरणले दोस्रो पटकको पत्रलाई समेत कारवाही गर्ने छाँटकाँट देखाएको छैन । त्यसो त बीमा प्राधिकरणमाथि नै प्रश्न चिन्ह उठेको छ । अघिल्लो आवको कर चुक्ता नलिई पछिल्लो आवको वित्तीय विवरणहरु खुरुखुरु कसरी पास भए ? बीमा प्राधिकरणको नियतमाथि प्रश्न उठेको छ ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख दीर्घ प्रसाद मैनाली कुनै पनि सरकारी सेवाको लागि पछिल्लो आवको कर चुक्ता अनिवार्य रहेको बताउँछन् । सुर्यज्योति लाइफ प्रकरणले बीमा प्राधिकरणबाट हुने वित्तीय विवरण अध्ययन र पारित सम्बन्धी कार्यहरु नेपालको प्रचलित कानुन विपरित नै हुँदै आएको खुलेको छ । बीमा प्राधिकरणमा दक्ष जनशक्तिको अभाव आजको समस्या होइन । वर्षौदेखिको कर चुक्ता प्रमाणपत्र नलिई बीमा सेवा प्रवाह भइरहनुले नियामकभित्रका कर्मचारीहरुमा थप क्षमता अधिबृद्धि र प्रचलित कानुनी अभ्यासहरुबाट अपडेट गराइनुपर्ने देखिएको छ ।
आन्तरिक राजश्व कार्यालयले अनिवार्य गरेको कर चुक्ता नलिएको बीमा कम्पनीहरुको वित्तीय विवरण पारित गर्ने र मर्जरका लागि अन्तिम स्वीकृति दिने जस्ता कार्यहरु बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्र्यालयबाट कसरी सम्भव भयो ? दोषी खोज्नुपर्ने देखिएको छ । बीमा प्राधिकरणभित्र कसले सुर्यज्योति लाइफका वित्तीय विवरणहरु पारित गरे ? छानविनको दायराभित्र पर्ला ? प्रश्न उठेको छ ।
अख्तियारले दोस्रो पटक छानविन गर्न पत्र काट्दा समेत बीमा प्राधिकरणले संरक्षण गरेपछि अब तेस्रो पत्रसाथ नियामकको नियतमाथि नै छानविन हुनसक्ने सम्भावना अघि बढेको छ । सामान्य नागरिकले जुनसुकै सेवा सुविधा लिन पछिल्लो आवको कर चुक्ता चाहिने तर सूर्यज्योति लाइफले पछिल्लो आव २०७८।०७९ को कर चुक्ता त परेको कुरा लेखापरिक्षण नै गर्न सकेको छैन । कर कार्यालयको तथ्याङ्कमा समेत उक्त कम्पनी दुवै कम्पनीहरुले आव २०७८।०७९ को वित्तीय विवरण नै नबुझाएको उल्लेख छ । वित्तीय विवरण नबुझाई, लेखा परिक्षण नै नगरी र कर चुक्ता समेत नलिई मर्जर गराएको आरोपमा बीमा प्राधिकरणमाथि समेत आयोगले छानविन गर्ने तयारी गरिरहेको बुझिएको छ ।