चिनियाँ राष्ट्रपति र सैन्य प्रमुखमा सि जिनपिङ चयन, कार्यकालका लागि निर्वाचित
काठमाडौं । नेपालमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको भोलिपल्ट उत्तरी छिमेकी मुलुक चीनमा पनि राष्ट्रपति चयन सम्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बेईजिङाम जारी १४ औं चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी)को जारी अधिवेशनले शुक्रवार उनलाई राष्ट्रपतिमा सर्वसम्मत चयन गरेको हो ।
राष्ट्रिय जनकंग्रेसले राष्ट्रपति सि जिनपिङलाई चिनियाँ जनमुक्ति सेनाको सुप्रिम कमाण्डरमा समेत चयन गरेको छ । बेईजिङमा जारी १४ औं राष्ट्रिय जनकंग्रेसको बैठकले हान झङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।
सम्मेलनले झाओ लचीलाई एनसीपीको स्थायी कमिटीको अध्यक्षमा निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । बैठकले चिनियाँ कम्युनिष्ट पार्टीमा स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ ।
स्थायी समितिका सदस्यहरुमा लि होङझोङ, वाङ तोङमिङ, स्याओ चेइ, झङ चिनवाङ, तिङ झोङली, हाओ मिङचिन, साइ ताफङ, ह वेइ, वु वेइह्वा, तिय निङ, पङ छिङह्वा, झाङ छिङवेइ, लोसाङ जामचन र सोहारत जाकिर रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिको महासचिवमा लिउ छि निर्वाचित भएका छन्।
तेस्रो कार्यकालका लागि नवनिर्वाचित राष्ट्रपति तथा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सि जिनपिङले शुक्रबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा संविधानप्रति निष्ठाको सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् । यही प्रतिबद्धतालाई शपथ समेत भनिन्छ ।
सिको तेस्रो कार्यकालका लागि १ हजार ९७७ सदस्यीय राष्ट्रिय जनकंग्रेसले सर्वसम्मत मत दिएका थिए । नेपालमा माओवादी र समाजवादी नामक कम्युनिष्ट पार्टीको भोटले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट छिमेकी मुलुक चीनमा पनि राष्ट्रपति चयन गरिएको हो ।
नेपालमा संसदीय व्यवस्था अनुसार मतदान गरेर राष्ट्रपति चयन गरिएको थियो भने चीनमा कम्युनिष्ट पार्टीभित्र जनवादी अभ्यासद्धारा नयाँ राष्ट्रपति र सैन्य प्रमुख चयन गरिएको हो ।