मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप, वैदेशिक रोजगारमा गएका नेपालीको लागि आज अन्तिम मौका
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले फागुन १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन अवधि लम्ब्याएको हो ।
कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले अब चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने कम्पनीको आईपीओमा आवेदन दिने आज (फागुन २५ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
सोमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं. ७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।