नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट, कुल बजार पुँजीकरणको अवस्था कस्तो ?
काठमाडौं । नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट आएको छ । सेयर बजारमा आएको गिरावटसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको हो ।
अघिल्लो वर्ष माघ मसान्तको तुलनामा चालू आर्थिक वर्ष ०७९/८० को माघ मसान्तसम्म धितोपत्र पुँजीगत लाभकरबापत सरकारलाई प्राप्त हुने राजस्वमा ८३ दशमलव ४० प्रतिशतले गिरावट आएको छ ।गत आवको माघ मसान्तसम्म धितोपत्र पुँजीगत लाभकरबापत सरकारले नौ अर्ब ७६ करोड राजस्व संकलन गरेको थियो । तर, चालू आवको सोही अवधिमा एक अर्ब ६२ करोड मात्रै संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको ०७८/७९ साउनदेखि माघ मसान्तसम्म नेप्से परिसूचक उच्च बिन्दुमा पुगेको थियो ।०७८ साउनमा साताको पहिलो कारोबार हुँदा नेप्से परिसूचक दुई हजार नौ सय ८० दशमलव ६१ बिन्दुमा रहेको थियो । यसबीचमा नेप्से सूचक बढेर २ भदौ ०७८ मा तीन हजार एक सय ९८ दशमलव ६० बिन्दु रहेको थियो । अहिलेसम्मकै उच्च सो मितिमा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब कायम थियो भने गत वर्ष फागुनमा कुल बजार पुँजीकरण ३६ खर्ब ६ अर्ब रुपैयाँमा आइपुगेको थियो ।
अघिल्लो वर्ष उच्चतम बिन्दुमा रहँदाको कुल बजार पुँजीकरण र मंगलबारसम्मको कुल बजार पुँजीकरणलाई तुलना गर्दा लगानीकर्ताले १६ खर्ब ४० अर्ब गुमाएका छन् । मंगलबार २३ फागुनमा कुल बजार पुँजीकरण २८ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ
त्यसअघिको उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यतिवेला नेप्से परिसूचक एक हजार आठ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर गत भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसयता फेरि बजारले पुरानो उच्च बिन्दुको लक्ष्य भेटाउन सकेको छैन ।
चालू आर्थिक वर्षको साउनमा आइपुग्दा नेप्से परिसूचक दुई हजार ११ दशमलव ४० बिन्दुमा रहेको थियो । सेयर धितो कर्जामा चार करोडको सीमा हटाए पनि १२ करोडको सीमा कायमै राखिएको छ ।