बैंकका कार्यालय र कर्मचारीमाथि सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रालयको निर्देशन

रिना खत्री
१९ फाल्गुन २०७९, शुक्रबार १८:३३

काठमाडौं । गृहमन्त्रालयले मातहतका सबै प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गर्दै देशैभरिका बैंक तथा वित्तीय संस्थाका शाखा र तिनमा काम गर्ने कर्मचारीहरूलाई शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन निर्देशन दिएको छ। 

नेपाल बैंकर्स संघले सुरक्षा मागेपछि गृह मन्त्रालयले यसको व्यवस्था मिलाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसासियसन, नेपाल वित्त कम्पनी संघ र लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति निकालेर सुरक्षा माग गरेपछि मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई जिल्लामा रहेको बैंक तथा वित्तीय संस्थाहरुमा सुरक्षा मिलाउन निर्देशन दिएको हो।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध संगठित आक्रमणको प्रयास हुन थालेपछि गृह मन्त्रालयले सुरक्षाको व्यववस्था मिलाउन निर्देशन दिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले बैंक तथा वित्तीय संस्थाहरूबैंकहरूलाई सुरक्षा दिन निर्देशन दिइएको बताए । सहसचिव बस्नेतका अनुसार देशैभरका बैंक, वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा बैंकमा काम गर्ने कर्मचारीहरूको सुरक्षा व्यवस्थामा ध्यान दिन सबै प्रशासन कार्यालयलाई निर्देशन दिइएको बताए । 

यता, जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंक तथा वित्तीय संस्थामा सुरक्षा खतरा बढेकोले सुरक्षा संवेदनशीलता विश्लेषणको आधारमा सुरक्षा थप बलियो बनाउन निर्देशन आएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुलेको भन्दै देशैभरि आन्दोलन उठिरहेको छ भने भोलि बिहान ११ः०० बजे काठमाडौंको नयाँ बानेश्वरमा विशाल विरोध सभाको आयोजना गरिएको छ । देशव्यापी रुपमा बैंकहरू विरुद्ध प्रदर्शन हुने क्रम बढेको तथा बैंकका कर्मचारीहरूलाई कालोमोसो दल्ने क्रम सुरु भएपछि गृहमन्त्रालयले सुरक्षा बढाउने निर्णय गरेको हो ।

यसैबीच, भोलि काठमाडौंमा आयोजना गरिएको विशाल विरोध सभा रोक्ने कुनै निर्णय नभएको समेत गृहमन्त्रालयले स्पष्ट पारेको छ । केही बैंकहरूले आन्दोलनकारीमाथि सरकारले दमन गर्नेभन्दा हल्ला चलाइरहेको बेला गृहमन्त्रालयले भोलि हुने भनिएको आन्दोलन रोक्ने सम्बन्धमा निर्णय नभएको प्रष्ट पारेको छ । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*