बीमा ऐन विपरित कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशनको अनुमति, धितोपत्र बोर्ड भन्छः ऐनको पाना पल्टाउँदैछौ
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यमान बीमा ऐन २०७९ मा उल्लेख भएको विधायिकीय मनसाय विपरित प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने अनुमति दिईसकेको छ । नियामक निकायबाटै अनुमति पाएपछि हाल चार वटा बीमा कम्पनी प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न बोर्डमा पुगिसकेका छन् । बीमा कम्पनीहरुले भ्यालुको आधारमा प्रिमियम मूल्यमा आईपिओ जारी गर्न पाउनुपर्ने भन्दै आएको छन् । सोही आधारमा बीमा प्राधिकरणले अनुमति दिएको हो । वोर्डले भने नियमन कानुन अनुसार मात्रै दिन सकिने भन्दै अध्ययन सुरु गरेको हो ।
प्राधिकरणले चैत मसान्तभित्र चुक्ता पुँजि पाँच अर्ब पुर्याउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । पुँजि बृद्धिका लागि प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न लागेका बीमा कम्पनीहरुलाई नियामक निकायले अध्ययन नै नगरी अनुमति दिएको बोर्डका अधिकारीहरुको बुझाई छ ।
नेपाल धितोपत्र बोर्डमा चार वटा बीमा कम्पनीहरु प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न आईपुगेपछि अब बोर्डले अध्ययन सुरु गरेको छ । कानुन, नेपाल सरकारको नीति र विद्यमान ऐनहरुको अध्ययन गरेर अनुमति दिने नदिने निर्णय गर्ने बोर्डले जनाएको छ ।
बीमा प्राधिकरणको नयाँ ऐनमा प्रिमियम मूल्यमा आइपीओ निष्काशन सम्बन्धी कुनै प्रावधान छैन । बरु बीमा ऐन २०७९ को दफा ४५ मा सर्वसाधारणलाई आईपिओ जारी गर्नुपर्नेभन्ने स्पष्ट उल्लेख छ । तर, प्रिमियम मूल्यमा आईपिओ जारी गर्न पाउने नपाउने भन्ने कुरा पनि केही उल्लेख छैन । बीमा ऐनमा उल्लेख नै नभएको विषयमा प्राधिकरणले अनुमति दिएपछि नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपिओ निष्काशन अनुमति दिने आशय व्यक्त गरिसकेको छ । बोर्डका अध्यक्ष रमेश हमालले अन्तर्राष्ट्रिय अभ्यास अनुसार निर्णय गरिने बताए ।
यसअघि पनि प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न खोज्दा लाइसेन्सिङको क्षेत्रमा १०० रुपैयाँमा नै आईपिओ जारी गर्नुपर्ने भन्ने नेपाल सरकारको नीति भएकोले रोकिएको थियो । नयाँ अध्यक्ष रमेश हमालले अन्तर्राष्ट्रिय अभ्यास भन्दै अनुमति दिने बताउँदै आएका छन् । नेपालको संसदमा पटक पटक छलफल भई लाइसेसेन्ङिको क्षेत्र (बैंक, वित्तीय क्षेत्र) मा प्रिमियम मूल्यमा आईपिओ नदिने भनेर बैंकिङ क्षेत्रमा रोकिएको थियो ।
बीमा प्राधिकरणको यस्तो निर्णयको कारणले गर्दा धितोपत्र बोर्ड अन्यौलमा परेको छ । यसअघि पनि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित धितोपत्र बोर्डमा यी कम्पनीहरु नपुगेको हैनन् । बोर्डले प्राधिकरणले नै यसमा कडाई गनुपर्ने भन्दै बारम्बार सुझाव मात्रै दिएन त्यसरी प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न अनुमति नदिन समेत तत्कालिन बीमा समितिलाई अनुरोध गरेको थियो ।
‘कसरी प्रिमियममा आइपीओ निष्काशनको बारे के गर्न सक्छौ भन्दै बोर्डको ऐनको पाना पल्टाउदै छौ । ऐनमा मिले निष्काशनको अनुमति दिने, ऐनमा रहेनछ भने ऐन बाहिर गएर प्रिमियम मूल्यमा आईपिओ दिँदैनौं’, नेपाल धितोबोर्डका एक अधिकारीले बताए । बोर्डले प्राधिकरणबाट पारित भएर आएको कम्पनीको अवस्था अध्ययन गरिहरहेको छ ।
बोर्डले यसअघिको नियम संसोधन गर्दै प्रारम्भिक सार्वजनिक निष्काशनको प्रिमियम निर्धारण गर्दा नेटवर्थको चार गुणा सम्म कायम गर्न सक्ने व्यवस्था रहेकोमा सोमा संशोधन गरी नेटवर्थको दुई गुणा सम्म कायम गर्न सक्ने व्यवस्था गरिसकेको छ ।
सूचीकृत सङ्गठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्काशनको प्रिमियम निर्धारण गर्दा नेटवर्थको चार गुणा सम्म कायम गर्न सक्ने व्यवस्था रहेकोमा सोमा संशोधन गरी प्रिमियम निर्धारण गर्दा प्रति शेयर नेटवर्थको भन्दा बढी नहुने गरी प्रिमियम सहितको निष्काशन मूल्य निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस नियमनभित्र रहेर प्राधिकरणले नेटवर्थको दुई गुणा भन्दा बढि नहुने गरी प्रिमियममा आइपिओ निष्काशन गर्न यी कम्पनीहरुलाई अनुमति दिएको छ । बाँकि अन्य बिषयमा भने बोर्डले अध्ययन गरिरहेको छ ।