सिद्धार्थ प्रिमियरको एकीकृत कारोबार शुभारम्भ, गाउँ गाउँमा बीमा सेवा पुर्याउन सफल भयौंः अध्यक्ष सिलवाल

१८ फाल्गुन २०७९, बिहीबार ०८:१५

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बुधबारबाट भव्य रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले सबै नियामक निकाय, अन्य बीमा कम्पनीहरुका सिईओहरु, बैंकर, उच्च व्यवसायिक घरानाहरुलाई बोलाएर भव्य शुभारम्भ गरेको हो ।

एकीकृत कारोबारको औपचारिक शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले पछिल्लो एक वर्षमा प्राधिकरणले चलाएको मर्जर अभियानले सार्थकता पाएको र देशव्यापी रुपमा बीमा कम्पनीहरुमाथि विश्वास बढेको बताए । उनले भने, ‘मर्जर किन भन्दै प्रश्न गरिएको थियो । आज राजधानी बाहिर देशका कुना कुनामा हेर्नुभयो भने यो अभियानले बीमाको परर्फमेन्स बढाएको हामीले पायौं ।’

अध्यक्ष सिलवालले पुँजि बृद्धिसँगै बीमा कम्पनीहरुको क्षमता बृद्धि भएको र अब बीमा सेवा डेलिभरीमा प्राधिकरण फोकस हुने बताए । अध्यक्ष सिलवालले भने ‘पुँजि कम भएका कारण केही गर्नै नसक्ने अवस्था थियो । गाउँ गाउँमा बीमा कम्पनीहरुलाई पुर्याउन शाखा विस्तार गर्न सक्षम भएका छन् ।’

अध्यक्ष सिलवालले बीमा कम्पनीका शाखाहरुलाई पनि दावी भुक्तानी दिन सक्ने गरी अधिकार प्रत्यायोजन गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले कम्तीमा ५० हजार रुपैयाँ सम्मको दावी भुक्तानी शाखा कार्यालयबाटै हुने व्यवस्था गर्न निर्देशन दिए ।

कार्यक्रममा बीमा कम्पनीहरुलाई आफ्नै मौलिक पोलिसी तयार गर्न आग्रह गरेका छन् । देशको भुगोल र अन्य अवस्था सबै ठाउँका एकनासको नभएकोले भुगोल र अवस्था सुहाउँदो बीमा पोलिसी तयार गरी लागू गर्नुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीलाई मर्जर गराउन भूमिका खेल्ने संयुक्त मर्जर कमिटीका अध्यक्ष रामेश्वर प्रसाद वस्यालले नयाँ कम्पनी चुक्ता पुँजिको आधारमा सबैभन्दा ठूलो भएको बताए ।

कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले एकीकृत कारोबारपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गाउँ गाउँमा पुगेर बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउँदै बीमालाई अझै सरल, प्रविधिमैत्री र विश्वसनीय बनाइने बताए ।  अध्यक्ष श्रेष्ठले मर्जरसँगै कम्पनीको वित्तीय स्थिति उल्लेख्य बृद्धि भएको बताउँदै समृद्धिको नयाँ आयामसहित बीमा सेवामा समर्पित हुने प्रतिबद्धता जनाए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा उच्चतम् नविन प्रविधिको प्रयोग गर्दै अघि बढ्न् बताए । अध्यक्ष श्रेष्ठले दुई अग्रणी बीमा कम्पनीका बीचमा मर्जर गरी बनेको नयाँ कम्पनी बीमा क्षेत्रकै कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नयाँ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ बीरेन्द्र बैदवारले मर्जरसँगै कम्पनीले अझ गुणस्तरिय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*