बीमा कम्पनीहरुको संचालक तथा निजी प्रयोजनको खर्चमा प्राधिकरणको कडाई
काठमाडौं । बीमा कम्पनीहरु तथा संचालकहरुको निजी प्रयोजनका लागि गरिेन खर्चमा बीमा प्राधिकरणले कडाई गरेको छ। बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको रकम कम्पनी तथा कम्पनीको सञ्चालकको निजी प्रयोजनका लागि खर्च गर्न नपाइने प्राधिकरणले निर्देशन मार्फत जनाएको छ।
बीमा प्राधिकरणले संशोधन गरेको संस्थागत सुशासनसम्बन्धी निर्देशन, २०७५ अनुसार कम्पनीहरूले कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्दा हुने खर्चलार्ई सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्न नपाइने व्यवस्था गरेको छ । तर, संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको खर्चमा कम्पनीको नाम सौजन्यका रूपमा उल्लेख गर्न सकिने व्यवस्थासमेत छ ।
त्यस्तै, सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत तथा राजनीतिक लाभ हुने गरी खर्च गर्न नपाइने व्यवस्था गरिएको छ । साथै, सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वका लागि पहिचान हुने क्षेत्रहरू, सो क्षेत्रमा खर्चका लागि प्राप्त हुने प्रस्ताव मूल्यांकन गर्ने प्रक्रिया, कोषको सञ्चालन तथा व्यवस्थापनलगायतका विषय समेटी छुट्टै कार्यविधि बनाई लागू गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरिदिएको छ । यसका अतिरिक्त सामाजिक उत्तरदायित्व कोषको व्यवस्था तथा सोबाट भएको खर्चसम्बन्धी जानकारी कम्पनीको वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीअन्तर्गत खुलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
यसअघि कम्पनीहरूले सामाजिक उत्तरदायित्व भन्दै कम्पनीको निजी प्रयोजनका लागि खर्च गर्दै आएका थिए । कम्पनीहरूले सञ्चालकलाई प्रदान गर्ने सेवा–सुविधादेखि लिएर अभिकर्तालाई दिने अतिरिक्त सुविधालाई समेत सामाजिक उत्तरदायित्वमा देखाउँदै आएका थिए । कम्पनीहरूले व्यवस्थापन खर्च र सामाजिक उत्तरदायित्वको खर्चलाई जथाभावी गर्न थालेपछि प्राधिकरणले निर्देशिकामा नै यस्तो व्यवस्था गरेको हो ।