बालबीमा पोलिसीमा कडाई गर्दै बीमा प्राधिकरण, संशोधनका लागि कार्यदलले काम गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बालबीमा योजनामा कडाई गर्ने भएको छ । प्राधिकरणले बाल बीमा पोलिसीको दुरुपयोग भएको भन्ने निष्कर्षसहित नीति नै परिवर्तन गरेर नियमन गर्न लागेको हो ।पछिल्ला केही बर्षहरुमा बालबीमा योजनाको दुरुपयोग भएको भन्दै यस बीमा योजना परिमार्जन गर्ने तयारी भइरहेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए ।प्राधिकरणले बालबीमा योजना परिमार्जनको लागि नेपाल जीवन बीमक संघ, पेशागत अभिकर्ता संघहरुसँग छलफल समेत सम्पन्न गरेर उक्त बीमा योजना संसोधनको तयारी गरेको जनाएको छ ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ मा संशोधनको तयारीको लागि कमिटी गठन गरेर अध्ययन गरिरहेको छ । सो अध्ययनको प्रतिवेदनको आधारमा बाल बीमा पोलिसी संशोधन हुनेछ ।
उक्त कमिटिले कुनै बीमितले आफनो बालबालिकाको बीमा गराउने अवधिमा अभिभावकाको आर्थिक अवस्था र उक्त परिवारको बीमा योजनामा सरिक हुने क्षमताको बिषयमा अध्ययन गरेर मात्रै बीमा प्रस्ताव स्वीकृत गरी संसोधन गर्ने तयारीमा रहेको जनाइएको छ ।
प्राधिकरणले लिएको सुझाव अनुसार सबै बालबीमामा समान बीमांकको जीवन बीमा हुनुपर्ने र ५० लाख माथि बीमाकी बालबीमा योजनामा नाघेको खण्डमा अभिभावकले समेत उक्त रकम बराबरको बीमा गनुपर्ने व्यवस्था संसोधन गर्ने तयारी गरेको छ ।
यस बीमालेख अन्तर्गत बालबालिकाको जोखिम बहन अवधी शुरू हुनु अगावै बालबालिकाको निधन भएको अवस्थामा मूल बीमा शुल्कवापतको रकम बीमकले फिर्ता दिनुपर्नेछ । बालबालिकालाई बीमा योजनामा सरिक गराई हत्या गराउने क्रम बढेसँगै प्राधिकरणले यसमा कडाई गर्न लागेको हो । हाल कमिटीको छलफलको क्रममा छ । कमिटिको अध्ययनपश्चात् यस बीमा योजना संसोधनबारेका विस्तृत विवरण बाहिर आउनेछ ।
यसअघि बीमा प्राधिकरणको (निर्देशिकाको दफा ५ (४) मा बालबालिकाको बीमा गर्दा प्रस्तावकको सबै बीमायोग्य नाबालक छोरा छोरीको समान बीमाङ्कको बीमा गर्नुपर्ने बीमा योजना परिमार्जन गर्ने तयारीमा रहेको छ । यसले गर्दा बालबालिकाको बीमा गर्नै नसक्ने अवस्था सिर्जना भएको बीमा अभिकर्ताहरुको गुनासो छ । छोरा र छोरीको समान हुने गरी बीमा गराउने बीमा प्राधिकरण्को सोच भएपनि यस्तो निर्णयले चार पाँच जना बालबालिका भएको परिवारमा बीमा गर्नै नसकिने भएको गुनासो छ ।
बीमित बालबालिका (हरु) को जोखिम सुरक्षण भैसकेपछि मृत्यु भएमा तत्काल बीमाङ्कको २५(पच्चिस) प्रतिशत प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ (पचहत्तर) प्रतिशत तथा मृत्यु हुँदा आर्जित बोनस एकमुष्ठ बीमा अवधि समाप्ति भएपछि भुक्तानी दिनुपर्ने पुरानो बुँदा हेरफेर हुने कमिटिले जनाएको छ ।
बालबालिकाहरुको बीमा गर्दा प्रस्तावकले बालबालिकाहरुको बीमा अवधि समाप्ति मितिसम्म आर्थिक रुपमा बीमाशुल्क भुक्तान गर्न सक्षम रहेको र ठूलो बीमाङ्कको हकमा आफ्नो समेत बीमा निरन्तर गर्न निजको आर्जनले थेग्ने यकिन हुने गरी बीमकले वित्तीय जोखीमाङ्कन गर्नुपर्ने पुरानो व्यवस्था भने हेरफेर हुनेछैन ।