बीमा प्राधिकरणको बीमा दावी भुक्तानी वर्ष नारामै सीमित, दोस्रो त्रैमासमा ५ प्रतिशतको मात्रै वृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरुको खुद बीमा दाबी भुक्तानीमा सामान्य वृद्धि मात्रै देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्ष २०७९।८०को दोस्रो त्रैमासिको ६ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २६ अर्व ७२ करोड रुपैयाँ खुद बीमा दाबी भुक्तानी गरेका छन् ।
गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीहरुले २५ अर्व ३९ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।गत आर्थिक बर्षको तुलनमा कम्पनीहरुको बीमा दाबी भुक्तानी गत वर्षको तुलनामा ५ दशमलव २२ प्रतिशतले बढेको कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणमा उल्लेख रहेको छ।
बीमा प्राधिकरणले बीमकहरुलाई बिमित मैत्री बनाउन गत वर्षदेखि बीमा दाबी बर्ष मनाउने घोषणा गरेको थियो । जसमा बीमा कम्पनीहरुलाई बीमा दाबी वर्ष सफल पार्न आह्वान समेत गरेको थियो । बीमा प्राधिकरणले बीमा दाबी वर्ष मनाउदै गर्दा पनि दाबी भुक्तानीमा अघिल्ला आर्थिक वर्ष झै सामान्य बृद्धिदर देखिएको छ । प्राधिकरणको बीमा दाबी वर्षको नारा नारामै सिमित हुन पुुगेको छ ।
१८ वटा जीवन बीमा कम्पनीहरु मध्ये अधिकांश कम्पनीको दाबी भुक्तानी बढ्दा ५ वटा कम्पनीको दावी भुक्तानी घटेको प्रकाशित वित्तिय विवरणले देखाएको छ ।समिक्षा अवधिसम्ममा सबैभन्दा बढी नेपाल लाइफले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले समिक्षा अवधिमा ८ अर्व ४४ करोड २५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले गत वर्ष यसै अवधिसम्ममा ७ अर्व ३० करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको दावी भुक्तानी १५ प्रतिशतले बढेको हो । दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा ३ अर्ब ९७ करोड रुपैयाँ बीमादावी भुक्तानी गरेको छ ।
समिक्षा अवधिसम्ममा तीन जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी १ सय प्रतिशत भन्दा बढीले बढेको छ । सबैभन्दा बढी प्रभु लाइफको बीमा दाबी भुक्तानी बढेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले ३७ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधि सम्ममा कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको थियो । यो बीमा दावी भुक्तानी रकम गत वर्षको तुलनामा २९१ दशमलव ७१ प्रतिशतले बढेको हो ।
दोस्रो नम्बरमा सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिसम्मा कम्पनीले ३१ करोड ३५ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको गत वर्षको तुलनाम १३६ दशमलव ९५ प्रतिशतले दावी भुक्तानी बढेको हो । तेस्रोमा सूूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले ८२ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले गत वर्षको यसैअवधिसम्ममा ३७ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको थियो । जुन ११९ दशमलव १७ प्रतिशतले बढेको छ ।
सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, नेशनल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ, एशियन लाइफ, रिलायन्स लाइफ लगायतका कम्पनीको दाबी भुक्तानी बढेको छ ।
दाबी भुक्तानी घट्ने ५ जीवन बीमा कम्पनी
समिक्षा अवधिसम्ममा ५ वटा जीवन कम्पनीको बीमा दावी भुक्तानी घटेको छ । समिक्षा अवधिसम्ममा युनियन लाइफको ५ दशमलव ९ प्रतिशतले दावी भुक्तानी घटेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको दाबी भुक्तानी २१ दशमलव ७२ प्रतिशतले घटेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको २४ दशमलव ५५ प्रतिशत, गुराँस लाइफको ३२ र मेट लाइफको ३८ प्रतिशतले बीमा दावी भुक्तानी गरेको छ ।