आँबूखैरेनीमा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले फागुन ७ गते आइतबार गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकका जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नु गाउँपालिकाको पनि दायित्व भएकाले नीति तथा कार्यक्रममा नै समावेश गरी बीमा कार्यक्रमलाई अगाडि बढाउने बताए।अध्यक्ष चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गर्न र विपन्न बर्गको बीमाका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले बीमा कम्पनीहरुले गाउँपालिकामा आएर बीमा गराउन ध्यान नदिएको गुनासो समेत गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्दै नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई समावेश गर्न र सबैको दुर्घटना बीमा गर्न गाउँपालिकासँग आग्रह गरे ।कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्ले, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, अगुवा कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९५ जनाको सहभागिता रहेको थियो ।