जगदम्बा सिमेन्टको गुणस्तर कामै नलाग्ने, प्रयोगकर्ताले किन्न छोडेपछि उत्पादन बन्द

७ फाल्गुन २०७९, आईतवार १७:०४

काठमाडौं । कुनै समयको चर्चित जगदम्बा सिमेन्टको गुणस्तरबारे आम सर्वसाधारण सशंकित बन्न पुगेपछि जगदम्बा समेन्ट बिक्री हुन ठप्प भएको छ । भैहरवाका न्यौपानेहरुले संस्थापना गरेको सौरभ ग्रुपको मुख्य लगानी रहेको जगदम्बा सिमेन्टको गुणस्तरमा पटक पटक समस्या आउने गरेको थियो ।

पछिल्लो पटक उक्त सिमेन्टको नमुना नापतौल तथा गुणस्तर विभागबाट कुनै समस्या नै नहुने गरी पारित भएपनि आम प्रयोगकर्ताको बीचमा गुणस्तरहीन भन्ने सन्देश प्रवाह भएपछि बिक्री ठप्प हुने पुगेको छ । जगदम्बा सिमेन्ट प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपानेका अनुसार विस २०७० सालदेखि २०७७ सालसम्म कम्पनीले बार्षिक एक करोड देखि तीन करोड बोरासम्म सिमेन्ट बिक्री गरेको थियो । भारतबाट क्लीङ्कर आयात गरी नेपालमा पिध्ने मात्रै काम गरी जगदम्बा सिमेन्टको नाममा ब्राण्डिङ हुँदै आएको सो सिमेन्टबारे आम प्रयोगकर्ताहरुले यथार्थ थाहा पाइसकेका छन् ।

मकवानपुरमा लामो समयदेखि निर्माण क्षेत्रमा कार्यरत भिम न्यौपानेका अनुसार जगदम्बा सिमेन्टको पिपिसी सिमेन्ट प्रयोग गरेर वाल तथा प्लाष्टर गर्दा भित्ता चर्किने समस्या आउने गरेको छ । आईआर रेसियो मापदण्ड भन्दा बढि भएका कारण यस्तो समस्या आएको सिमेन्ट प्राविधिकहरु बताउँछन् । जगदम्बा सिमेन्ट प्रयोग गरिएका प्रायः सबै घरका भित्ताहरुमा स–साना रेखा देखिएर चर्कने गरेका छन् । घुस सेटिङमा नापतौल तथा गुणस्तर विभागबाट गुणस्तर परिक्षण पास भएपनि प्रचार प्रसार र विश्वासको भरमा जगदम्बा सिमेन्ट प्रयोग गर्नेहरु पछुतो मान्न थालेका काठमाडौं बढानिलकण्ठ निर्माण प्राविधिक सुनकाजी श्रेष्ठ बताउँछन् ।

जगदम्बा सिमेन्ट गत वर्ष सरकारको कारवाहीमा परेको सिमेन्ट हो । नेपाल गुणस्तर तथा नापतौल बिभागले गत वर्ष जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको संकलित नमूना परीक्षण गर्दा नमुनाको कम्प्रिहेन्सिभ स्ट्रेन्थ एमपिए ३ र ७ दिनको क्रमशः १५ र २० (हुनुपर्ने क्रमशः १६ र २२ ) देखिएको भन्दै कारवाही गरेको थियो । नेपाल गुणस्तर ३८५ अनुसार नभएको प्रयोगशाला परिक्षणको क्रममा भेटिएपछि उक्त सिमेन्टहरु १५ दिनभित्रमा बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो ।

कम्प्रिहेन्सिभ स्ट्रेन्थ मापदण्ड अनुसार नभएमा त्यस्तो सिमेन्टबाट तयार परिएको प्लास्टरबाट बिस्तारै बालुवा भुर्रभुर्र झर्न थाल्ने समस्या आउने गर्दछ । सो समस्या हल नभईको प्रयोगकर्ताहरुको गुनासो छ । समस्यायुक्त सिमेन्टलाई कम्पनीले नापतौल तथा गुणस्तर विभागबाट घुस सेटिङमा पास गर्दै आएको तीतो इतिहास छ । लामो समयदेखि नापतौल तथा गुणस्तर विभागमा बसेर गुणस्तरहिन सिमेन्ट र डण्डीहरुको सेटिङमा गुणस्तर पास गर्ने राम आधार साह अहिले प्रधानमन्त्री कार्यालयमा सचिवको रुपमा कार्यरत छन् भने अर्का विश्वबाबु पुडासैनी सचिव हुने लाइनमा छन् ।

जनताको बीचमा विश्वास गुमाएको जगदम्बा सिमेन्टको माग ह्वात्तै घटेको छ । सिमेन्टको माग घटेपछि जगदम्बा सिमेन्टको भैरहवास्थित उद्योग बन्द गरेको छ । सिमेन्ट उद्योग स्रोतका अनुसार विगत १५ दिनअघि देखि विष्णु न्यौपानेले उद्योग बन्द गर्न निर्देशन दिएका हुन् ।

तर, कम्पनीमा कार्यरत एक कर्मचारी मनिष गौतमले भने उद्योग पूर्ण रुपमा बन्द नै नभएको बताए । ति कर्मचारीले भने, ‘बन्द नै भएको छैन । कसले चलायो यस्तो हल्ला ?’ सो सम्बन्धमा जगदम्बा सिमेन्टका प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपानेले भने केही बताउन चाहेनन् । साथै उनले गुणस्तरको समस्या रहेको वा नरहेको सम्बन्धमा समेत केही जवाफ दिएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*