निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए साढे २ अर्ब, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनासम्ममा २ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ व्यवस्थापनमा खर्र्चिका छन् । १७ निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरुको व्यवस्थापन खर्च १५.६६ प्रतिशतले बढ्न पुगेको हो ।
गत आर्थिक वर्षको यसै अवधिसम्ममा १७ निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा २ अर्ब ३३ करोड २ लाख रुपैयाँ खर्चिएका थिए । अधिकांश कम्पनीको व्यवस्थापन खर्च बढ्दा यता युनाइटेड र राष्ट्रिय बीमा कम्पनीले भने यस्तो खर्च गत वर्षको तुलनामा घटाएका छन् ।
कम्पनीहरुले आफ्ना बीमा ब्यवसाय बढाएसँगै व्यवस्थापन खर्च समेत बढेको वित्तीय विवरणले देखाएको छ । निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी व्यवसाय गर्ने दुई ठूला कम्पनी शिखर र नेकोको यस अवधिसम्म बीमा ब्यवसायसँगै व्यवस्थापन खर्चसमेत बढ्न पुगेको देखिएको छ ।
१७ निर्जीवन बीमा कम्पनीमध्ये गत वर्षको तुलनामा सबैभन्दा बढी व्यवस्थापन खर्च बढ्ने कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । साविक सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्ज भई एकीकृत कारोबार गरेसँगै पनि कम्पनीको व्यवस्थापन खर्च बढ्न पुगेको देखिएको हो । यस अवधिसम्म कम्पनीको यस्तो खर्च गत वर्षको तुलनामा ८६.१५% बढेर १४ करोड ३४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै दोस्रोमा नेको इन्स्योरेन्सले पनि सो अवधिसम्म २३ करोड ४४ लाख रुपैयाँ व्यवस्थापनमा खर्चेको छ । यो खर्च गत वर्षको तुलनामा २५.२१ प्रतिशतले बढी हो । साथै निर्जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै शिखर इन्स्योरेन्सले पनि सो अवधिसम्म २८ करोड ५४ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको देखिएको छ । यो खर्च गत वर्षको तुलनामा २५.०३ प्रतिशतले बढी हो ।
यस्तै, अजोड इन्स्योरेन्सले पनि सो अवधिसम्म २४.३१ प्रतिशतले व्यवस्थापन खर्च बढाएको छ । मर्जरको प्रक्रियामा रहेका प्रिमियर इन्स्योरेन्स र लुम्बिनी जनरलले पनि २०–२० प्रतिशतले यस्तो खर्च बढाएको देखिएको छ ।