१८ जीवन बीमा कम्पनीले खडा गरे पाँच खर्ब १९ अर्बको जीवन बीमा कोष, बृद्धिदरका आधारमा महालक्ष्मी र आकारमा नेपाल लाइफ उत्कृष्ट

३ फाल्गुन २०७९, बुधबार १७:०५

काठमाडौं । जीवन बीमा कम्पनीहरुको देश विकास र पुँजि निर्माणमा ठूलो भूमिका हुन्छ । त्यसैले जीवन बीमा क्षेत्रलाई देशको अर्थतन्त्रको ब्याकबोनको रुपमा हेरिन्छ । भारतमा सरकारको कूल राजश्व भन्दा एलआईसी नेपालको जीवन बीमा कोषको आकार निकै ठूलो छ । नेपालमा पनि पछिल्ला दिनहरुमा बीमा कम्पनीहरुले विशाल कोष खडा गर्न सफल हुन थालेका छन् ।

बीमा कम्पनीहरुले प्रकाशन दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत पुस मसान्तसम्ममा नेपालमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुले हालसम्म पाँच खर्ब १९ अर्ब चार करोड ३७ लाख ६० हजार रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएका छन् । उक्त कोषमा जगेडा कोष र महाविपत्ति कोष समेत जोड्दा छ खर्ब भन्दा बढि हुन जान्छ ।

पछिल्लो एक वर्षमा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २०.६२ प्रतिशतले बृद्धि भएको तथ्याङ्कमा देखिएको छ । गत आवको यसै अवधीमा चार खर्ब २५ अर्ब १८ करोड २७ लाख २७ हजार रुपैयाँको जीवन बीमा कोष रहेको थियो । पछिल्लो एक वर्षमा जीवन बीमा कोषमा झण्डै एक खर्ब अर्थात ८८ अर्ब ७१ करोड ६५ लाख ५७ हजार रुपैयाँले बृद्धि भएको छ ।

आर्थिक संकटका कारण जीवन बीका व्यवसाय विगतमा झै फस्टाउन नसके पनि जीवन बीमा कोषको आकार भने झनै बलियो बनेको छ । यसले आगामी दिनमा बीमा व्यवसाय झनै बलियो हुने देखिएको छ । जीवन बीमा कोषको आकारमा बृद्धि हुँदा बीमितले पाउने लाभ बढ्न गई भविष्यमा जीवन बीमा व्यवसायप्रति आम जनताको विश्वासमा बृद्धि हुनेछ ।

 

सबैभन्दा धेरै नेपाल लाइफको जीवन बीमा कोष रहेको छ । सो कम्पनीको एक खर्ब ५० अर्ब रुपैयाँको जीवन बीमा कोष रहेको छ । त्यस्तै दोस्रो नम्वरमा नेपाल लाइफलाई पछ्याउँदै अघि बढेको एलआईसी नेपाल रहेको छ । एलआईसी नेपाल खर्ब क्लवमा उक्लन सफल भई एक खर्ब एक अर्ब २१ करोड ४६ लाख ७४ हजार रुपैयाँको विशाल कोष खडा गर्न सफल भएको छ ।

त्यस्तै जीवन बीमा कोषको आधारमा तेस्रो नम्वरमा रहेको नेशनल लाइफले ५६ अर्ब रुपैयाँको कोष खडा गर्न सफल भएको छ भने राष्ट्रिय बीमा संस्थानको ४५ अर्ब रुपैयाँको जीवन बीमा कोष रहेको छ । पाँचौं नम्वरमा रहेको एशियन लाइफले ३४ अर्ब रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । त्यस्तै, जीवन बीमा कोषको आधारमा छैटौं स्थानमा रहेको सूर्यज्योति लाइफको जीवन बीमा कोषमा २३ अर्ब छ करोड २९ लाख ८१ हजार रुपैयाँ संचिती रहेको छ ।

मेट लाइफको जीवन बीमा कोषमा २१ अर्ब, प्राइम लाइफको जीवन बीमा कोषमा २० अर्ब, गुराँस र युनियन लाइफको जीवन बीमा कोषमा १३ अर्ब रुपैयाँ संचिती रहेको छ । त्यस्तै सिटिजन लाइफको जीवन बीमा कोषमा सात अर्ब संचिती रहेको छ भने रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा पाँच अर्ब रुपैयाँ, आईएमई लाइफको जीवन बीमा कोषमा पाँच अर्ब रुपैयाँ संचिती रहेकोछ ।

रिलायन्स लाइफको जीवन बीमा कोषमा चार अर्ब, सन नेपालको जीवन बीमा कोषमा चार अर्ब रुपैयाँ, सानिमा लाइफको जीवन बीमा कोषमा चार अर्ब, प्रभु लाइफको जीवन बीमा कोषमा तीन अर्ब र महालक्ष्मी लाइफको जीवन बीमा कोषमा पौने तीन अर्ब रुपैयाँ संचिती रहेको छ ।

जीवन बीमा कोषको आकार बृद्धिका आधारमा सबैभन्दा धेरै प्रतिशत महालक्ष्मी लाइफको बृद्धि भएको देखिएको छ । सो कम्पनीको जीवन बीमा कोष सबैभन्दा धेरै ५६.४३ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, दोस्रो नम्वरमा रिलायबल नेपाल लाइफको बृद्धि उच्च देखिएको छ । सो कम्पनीको ५५.७० प्रतिशतले जीवन बीमा कोष बृद्धि भएको छ । बृद्धिदरका आधारमा तेस्रो स्थानमा रहेको सिटिजन लाइफको बृद्धिदर ५५.४० प्रतिशत रहेको छ ।

 

जीवन बीमा कोष बृद्धिदरका आधारमा चौथो स्थानमा रहेको सानिमा लाइफको ४४.३८ प्रतिशतले बृद्धि भएको देखिएको छ भने आईएमई लाइफको जीवन बीमा कोष ४१.२५ प्रतिशतले बृद्धि भएको देखिएको छ । युनियन लाइफको जीवन बीमा कोष गत आवको तुलनामा ३८.९४ प्रतिशतले बृद्धि हुँदा सन नेपाल लाइफको जीवन बीमा कोष ३८.५६ प्रतिशतले बृद्धि भएको छ ।

प्रभु लाइफको ३३.७१ प्रतिशत, सूर्या ज्योति लाइफको ३०.१८ प्रतिशत, रिलायन्स लाइफको २६.२४ प्रतिशत, नेपाल लाइफको २०.८४ प्रतिशति, राष्ट्रिय बीमा संस्थानको २०.२९ प्रतिशत, नेशनल लाइफको १८.९५ प्रतिशत, गुराँस लाइफको १८.८५ प्रतिशत, एशियन लाइफको १८.४८ प्रतिशत, एलआईसी नेपालको १७.०२ प्रतिशत, मेट लाइफको ११.५२ प्रतिशत, प्राइम लाइफको ४.३६ प्रतिशतले जीवन बीमा कोषको आकार बृद्धि भएको देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*