साढे दुई अर्ब चुक्ता पुँजि पुर्याउने पहिलो निर्जीवन बीमा कम्पनी बन्यो शिखर
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले साढे दुई अर्ब चुक्ता पुँजि तोकेको छ । गतवर्ष १२ महिनाको अवधी तोकेर एक अर्ब चुक्ता पुँजि भएका निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जान वा आफै चुक्ता पुँजि पुर्याउन निर्देशन दिएको थियो ।
बीमा प्राधिकरणले तोकेको साढे दुई अर्ब चुक्ता पुँजि पुर्याउने शिखर इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ । नेपालको सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले मर्जर नगरी एक्लैले चुक्ता पुँजि दुई अर्ब ६५ करोड १८ लाख ५४ हजार १९२ रुपैयाँ पुर्याएर आफूलाई उत्कृष्ट र अब्बल कम्पनीको रुपमा स्थापित गराउन सफल भएको छ ।
गत आवको दोस्रो त्रैमासिक अवस्थासम्म कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ रहेको थियो । शिखर इन्स्योरेन्स कम्पनीको गत माघ २५ गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भइसकेको छ । उक्त बोनस शेयर अब छिट्टै शेयरधनीको खातामा जानेछ । कम्पनीले आफ्नो शेयरधनीलाई ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँको बोनस शेयर वितरण गर्ने निर्णय स्वीकृत भइसकेको छ ।
सो प्रक्रिया पश्चात शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा पहिले चुक्ता पुँजि पर्याउने कम्पनी बन्न सफल भएको हो । जीवन बीमा क्षेत्रकै पहिलो मर्जर सम्पन्न गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर जम्मा दुई अर्ब २३ करोड रुपैयाँ रहेको छ भने सानिमा जिआईसीको पनि चुक्ता पुँजि दुई अर्ब मात्रै छ । अर्को ठूलो कम्पनी नेको इन्स्योरेन्सको चुक्ता पुँजि दुई अर्ब नाघिसकेको छ भने सगरमाथा इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजि बृद्धिका लागि लुम्बिनी जनरल इन्स्योरेन्सस कम्पनीसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।
नियामक निकायले नेपाली वित्तीय क्षेत्रको इतिहासमा सबैभन्दा छोटो समय दिएर मर्जर वा अन्य कुनै विधिमार्फत चुक्ता पुँजि बृद्धि गर्न दिएको निर्देशनलाई शिखर इन्स्योरेन्स कम्पनीले सहजै पूरा गर्न सफल भएको हो ।