निर्जीवन बीमा कम्पनीहरुको मुनाफा १९ प्रतिशतले बढ्यो, नाफा आर्जन र इपीएसमा कुन अघि ? (तथ्याङ्कसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा औषतमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा गत आवको यसै अवधिसम्मको तुलनामा १९.१७ प्रतिशतले बढ्न पुगेको हो ।
गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब १४ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा १८ मध्ये तीन कम्पनीको मुनाफा घटेको छ भने अधिकांश कम्पनीले यस अवधिसम्म मुनाफा बढाउन सफल भएको छ ।
सबैभन्दा बढी मुनफा आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले सो अवधिसम्म ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । साथै दोस्रोमा धेरै मुनाफा कमाउनेमा निर्जीवन बीमा कम्पनीहरुमा अब्बल शिखर इन्स्योरेन्सले २४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, यस अवधिसम्म सगरमाथा इन्स्योरेन्सले १७ करोड ९३ लाख र नेको इन्स्योरेन्सले १७ करोड ६० लाख रुपैयाँमाथि नाफा कमाएको छ । त्यस्तै, नेशनल, प्रिमियर, नेपाल, सिद्धार्थ, आइएमई जनरल, ओरियन्टल, सानिमा जिआइसी, हिमालयन एभरेष्ट, एनएलजी र लुम्बिनी जनरल इन्स्योरेन्स १० करोड भन्दा बढी मुनाफा आर्जन गरेका छन् । साथै प्रभु, युनाइटेड, अजोड र प्रुडेन्सियल इन्स्योरेन्सले भने १० करोडभन्दा मुनि नाफा कमाएको छ ।
नाफा बृद्धिदरमा को अघि ?
गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सबैभन्दा बढी मुनाफा बृद्धि गर्नेमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्म १०२.२८ प्रतिशतले मुनाफा बृद्धि गरेको छ ।
त्यस्तै, दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले पनि सो अवधिसम्म ९२.५७ प्रतिशतले मुनाफा बढाएको छ । साथै नेपाल इन्स्योरेन्सले ४७.६५ प्रतिशत, युनाइटेडले ३३.७० प्रतिशत, नेकोले १७.२० प्रतिशत, आइएमई जनरलले ७.७८ प्रतिशत, अजोडले ५.३८ प्रतिशत, सिद्धार्थले ४.४० प्रतिशत, प्रभुले ४.२५ प्रतिशत, एनएलजीले ३.६३ प्रतिशत, लुम्बिनीले १.०६ प्रशित, सगरमाथाले ०.९३ प्रतिशत, प्रिमियरले ०.३४ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ०.३२ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै, गत आवमा ६ करोड ८८ लाख रुपैयाँ नोक्सानमा रहेको नेशनल इन्स्योरेन्सले यस अवधिसम्म १६ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै, अन्य घट्ने कम्पनीमा शिखर इन्स्योरेन्सको नाफा गत आवको तुलनामा ०.९५%, ओरियन्टलको ४०.७२% र प्रुडेन्सियल इन्स्योरेन्सको ४३.२४% प्रतिशतले नाफा बढेको छ ।
प्रतिशेयर आम्दानीमा को अघि ?
१८ निर्जीवन बीमा कम्पनीमध्ये यस अवधिसम्ममा सबैभन्दा बढी प्रतिशेयर आम्दानी (इपीएस) भएको संस्थामा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको इपीएस २८० रुपैयाँ ६७ पैसा रहेको छ । गत आवको तुलनामा कम्पनीको इपीएस १३४ रुपैयाँ ९२ पैसा बढेको हो ।
त्यस्तै, अधिकांश कम्पनीको इपीएस गत आवको तुलनामा घट्न पुगेको छ । दोस्रोमा धेरै इपीएस हुने कम्पनीमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाको इपीएस पुष मसान्तसम्म २६ रुपैयाँ ९ पैसा रहेको छ, तर कम्पनीको इपीस गत वर्षको तुलनामा ५ रुपैयाँ ८ पैसा घट्न पुगेको हो ।
यस्तै, प्रिमियरको २२.२७ रुपैयाँ, नेपाल इन्स्योरेन्सको २२.२३ रुपैयाँ, शिखरको २१.०६ रुपैयाँ, सिद्धार्थको २०.९९ रुपैयाँ, नेकोको १७.५ रुपैयाँ, एनएलजीको १६.०८ रुपैयाँ रहेको छ भने अन्य कम्पनीको इपीएस सो भन्दा तल रहेको छ ।