मर्जर प्रक्रियामा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४३% ले घट्यो, इपीएस कति ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको नाफासहित बीमा व्यवसाय घट्न पुगेको देखिएको छ ।
चालु आवको पुष मसान्तसम्ममा कम्पनीले ४ करोड १ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत वर्षको तुलनामा ४३.२४ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ७ करोड ७ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
साथै नाफासँगै कम्पनीको बीमा ब्यवसाय समेत खस्किएको छ । यस अवधिसम्म कम्पनीले ६४ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो आर्जन गत वर्षको तुलनामा ४.०५ प्रतिशत कम हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ६७ करोड ९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो ।
बीमा ब्यवसाय घटेपनि कम्पनीले आफ्नो बीमा कोषको आकार भने गत वर्षको तुलानामा २०.५६ प्रतिशतले बढाउन सफल भएको छ । यस अवधिसम्म कम्पनीको बीमा कोषमा ६८ करोड ९९ लाख रुपैयाँ संचिति रहेको छ । साथै जगेडा कोषको आकार भने ५.३३ प्रतिशत घटेको छ भने महाविपत्ती कोषको आकार ३४.०८ प्रतिशत बढेको छ ।
यस अवधिसम्म आइपुग्दा कम्पनीको खुद दावी भुक्तानी १.०५ प्रतिशत बढेको छ । क्लेम सँगै कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय समेत १.८८ प्रतिशत बढेको छ । साथै कम्पनीको व्यवस्थापन खर्च ११.१३ प्रतिशतले बढेको छ । यसकारण पनि कम्पनीको नाफा प्रभावित बन्न पुगेको हो । हाल कम्पनीको जारी बीमा पोलिसी संख्या ६६ हजार २७३ रहेको छ ।
चालु आवको पुष महिनासम्म कम्पनीको चुक्तापुँजी ७ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३.५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ३० पैसा रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौता भइसकेको छ । साथै यी दुवै कम्पनीको साधारण सभाबाट समेत मर्जर प्रस्ताव पारित भइसकेको छ ।