क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न

१ फाल्गुन २०७९, सोमबार ०९:३६

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार एक विशेष समारोह माझ ‘इन्फोडेभलर्स क्यान इन्फोटेक २०२३ ईन एसोसिएन विथ डिशहोम फाइबरनेट’को समुद्घाटन गरेकि थिइन । सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरू सहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

६ दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधिप्रेमीले अवलोकन गरेका थिए ।

आइतबार क्यान इन्फोटेकको अन्तिम दिन काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री महेश बस्नेत, प्रतिधिसभाका सांसद दामोदर पौडेल र लगायतका विशिष्ट अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरेकि थिइन ।

यस संस्करणको क्यान इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उहाँले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिनुभयो ।

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजकमा सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालि रहेको थियो भने एसोसिएट स्पोन्सरमा इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेट रहेको थियो । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हुवावे टेक्नोलोजी – इन नेपला, फर नेपाल र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।

टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आइएमई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर ¥याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका थिए ।

प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको थियो । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत रहेका थिए । त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको थियो । यसरी प्रदर्शनीमा १५० बन्दा बढी स्टलको सहभागिता रहेको थियो ।

मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिरया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका थिए ।

क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रमसमेत गरिएको थियो, जसमा १९३ जना रक्तदानमा सहभागी भएका थिए । त्यस्तै अभियन्ता फाउन्डेसनले क्यान महासंघसँग सहकार्य गरी ६ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यसअन्तर्गत मधुमेह जाँच तथा परामर्शमा २४० जना, आँखा जाँच तथा परामर्शमा २३४ र दन्त जाँचमा २५३ गरी कुल ७२७ जनालाई सेवा प्रदान गरिएको थियो ।

त्यस्तै क्यान इन्फोटेकमा कोडिङ कम्पिटिसन, क्विज कन्टेस्ट, गेमिङ कम्पिटिसन, रोबो सकर कम्पिटिसन लगायत पनि सञ्चालन भएको थियो ।

यसैबीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२३ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । यसका लागि तयारी तीव्र पारिसकिएको उहाँको भनाइ थियो ।

साथै, क्यान इन्फोटेक २०२३ को अवसर पारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आईसीटी सेमिनार आयोजना गरेको छ । यसअन्तर्गत माघ २५ देखि माघ २९ गतेसम्म विभिन्न ४ विषयमा आईसीटी सेमिनार गरिएको थियो ।

आयोजकका अनुसार माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिरया गरिएको थियो । त्यस्तै माघ २६ गते ब्लकचेन प्रविधि र फिनटेक विषय गरी दुई विषयमा सेमिनार आयोजना गरिएको थियो ।

त्यस्तै माघ २९ गते आइतबार नेपालमा इन्टरनेट इकोसिस्टम विषयमा सरोकारवालाबीच अन्तर्क्रिरया गरिएको थियो । सो अवसरमा ब्यान्डविथ इस्यु, इन्टरनेको गुणस्तर, डेटा लिक लगायतका विषयमा इन्टरनेट सेवाप्रदायक, नियामक र उपभोक्ताको तर्फबाट वक्ताहरूले आफ्ना भनाइ राख्नुभएको थियो । साथै यूथ आजिएफ नेपालले इन्टरनेट सम्बन्धि जनचेतना स्कूल लेबलबाट नै हुनुपर्ने सरोकारवालाहरुले सोहि कार्यक्रममा नै बताए । सूचना प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला व्यक्तिहरू बीच सार्थक अन्तर्क्रिरया गराउन क्यान इन्फोटेक सफल भएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*